स्थानीय निर्वाचन २०७९

गठबन्धनको प्रभाव : कांग्रेस र माओवादी चम्किँदा टाक्सियो नेकपा (एस)

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसको फाइदा उठाउन सकेन। ‘सके आफू जित्ने नसके एमाले हराउने’ मुख्य उद्देश्यसहित चुनावमा होमिएको नवगठित उक्त दल नराम्ररी टाक्सिएको छ ।

गठबन्धनको प्रभाव : कांग्रेस र माओवादी चम्किँदा टाक्सियो नेकपा (एस)
फाइल फोटो

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना हुने क्रम जारी छ। देशभरका १ सय ५० बढी पालिकाकाका मतपरिणाम आउन बाँकी नै छन्।

गणना भइसकेका र अग्रता लिएका हिसाबले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भइसकेको छ। कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर चुनावमा होमिएका छन् तर गठबन्धन गरेर चुनावमा होमिएका दलमध्ये कांग्रेस र माओवादी केन्द्रले मात्र यसको लाभ लिन सकेका देखिएको छ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसको फाइदा उठाउन सकेन। ‘सके आफू जित्ने नसके एमाले हराउने’ मुख्य उद्देश्यसहित चुनावमा होमिएको नवगठित उक्त दल नराम्ररी टाक्सिएको छ । एमाले नेता गोकूल बाँस्कोटाको नगरपालिका जित्न सफल उक्त दलले प्रतिनिधिसभा सदस्यबराबर पनि स्थानीय तहका प्रमुख जित्न सकेन ।

नेकपा एसले आफ्नो भागमा पाएकोपोखरा महानगर र हेटौँडा उपमहानगरपालिकामा अग्रता लिइरहेको भए पनि  देशभरिका अन्य स्थानमा खासै प्रभाव देखाउन सकेन। प्राप्त परिणामबाट उक्त दलभित्र निराशा छाएको छ।  यो समाचार तयार पार्दासम्म १४ ओटा स्थानमा प्रमुख पद जितेको समाजवादीले वडास्तरमा प्रक्षेपण गरेजस्तो जित निकाल्न सकेन।

यस्तै हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षीय रोचक भिडन्त भइरहँदा समाजवादीले नै जित्ने अवस्था देखिएको छैन। अहिले नेकपा एस मात्र ६ ठाउँमा अग्र स्थानमा छ। यो आँकडाबाट के भन्न सकिन्छ भने उसले २० स्थानीय आसपासभन्दा बढी जित्ने अवस्था देखिँदैन।

अघिल्लो स्थानीय तहको निर्वाचनमा २६६ प्रमुख पद जितेको कांग्रेसले यो पटक थप ५० प्रमुख पद जित्ने देखिएको छ। यता पार्टी विभाजन र संगठनका हिसाबमा कमजोर हुँदै गएको माओवादी केन्द्रले अघिल्लो पटक पाएको पालिका प्रमुखमा १२ ओटा थप्ने देखिन्छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा निकै बलियो नेकपा एमाले यसपटक पद प्रमुखको हिसाबले निकै कमजोर साबित भयो। एमालेले ०७४ को स्थानीय निर्वाचनमा २९४ स्थानीय तह जितेको थियो। तर अहिले ऊ २०० हाराहारीमा खुम्चिने देखिन्छ।

ठूला तीन दलको गठबन्धन र पार्टी फुटको मार नै एमालेको हारको प्रमुख कारण मान्न सकिन्छ। जसका कारण एमालेले ०७४ सालको भन्दा १०० सय आसपास सिट गुमाउने देखिन्छ।

नेकपा एसलाई सबैभन्दा बढी ‘घाटा’

“गठबन्धनले माओवादीलाई निश्चित रुपमा नै फाइदा पुगेको छ भने एकीकृत समाजवादीलाई सबैभन्दा बढी घाटा लागेको छ,” राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भन्छन्, “भनिएअनुसार गठबन्धन नभए पनि गठबन्धनले माओवादी केन्द्रलाई फाइदा पुगेको देखिन्छ।”

गठबन्धनका पाँच दलले स्थानीय निर्वाचनमा दलीय हैसियतअनुसार स्थानीय तहको बाँडफाँट गरेका थिए। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले विजय भएको २९४ स्थानमध्ये अधिकांशमा सत्ता गठबन्धनले बाँटफाँट गरेका थिए।

पार्टीका नेताहरू पनि गठबन्धनले आफ्नो पार्टीलाई फाइदा नगरेको स्विकार्छन्। उपमहासचिव डा. विजय पौडेल भन्छन्, “गठबन्धनले सबैभन्दा बढी फाइदा माओवादी केन्द्रलाई भयो। सबैभन्दा बेफाइदा हामीलाई, हाम्रा पार्टीका मानिसले गठबन्धनका अन्य पार्टीलाई मत हाल्दा अन्य पार्टीले हाम्रालाई मत नहाल्दा यो अवस्था आएको हो।”

गठबन्धनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई खास फाइदा नगरेको अवस्थामा आगामी दिनका विषयमा पार्टीभित्र छलफल भइरहेको पौडेल बताउँछन्। “स्थानीय तहको निर्वाचनपछि राजनीतिको आगामी समीकरणका विषयमा पार्टीभित्र छलफल हुँदैछ,” पौडेल भन्छन्।

ठूला नेता एमालेमा गए पनि गठबन्धनबाट जोगियो माओवादीको साख

तत्कालीन नेकपा विभाजनले माओवादी केन्द्रलाई ठूलै असर पुगेको थियो। माओवादी केन्द्रबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका प्रभावशाली मानिने नेता एमालेमा गएका थिए।

१० मंसीर २०७८ बाट शुरु भएको एमालेको १० औँ महाधिवेशनपछि माओवादी केन्द्रका पूर्वनेता एमालेको महत्त्वपूर्ण ओहदामा पुगे। माओवादी केन्द्रका नेता एमालेमा जाँदा एमालेका नेता भने माओवादी केन्द्रमा आएनन् बरु छुट्टै पार्टी गठन गरे एकीकृत समाजवादीतिर लागे।

यस हिसाबले हेर्दा माओवादी केन्द्र गएको स्थानीय तहको निर्वाचनको तुलनामा पार्टीभित्रै कमजोर देखिने आकलन गरिएको थियो। तर गठबन्धनको सहारामा ऊ कमजोर हुन पाएन। बरु पालिका संख्या थप्न सफल भयो।

यही कारण पनि गठबन्धन दलभित्र सबैभन्दा बढी माओवादी केन्द्रलाई फाइदा पुगेको एकीकृत समाजवादीका नेता पौडेलको दाबी गर्छन्। तर, माओवादी केन्द्रका केन्द्रीय नेता पेशल खतिवडा भने यसको उल्टो भएको तर्क गर्छन्। गठबन्धनले पार्टीलाई फाइदाभन्दा बेफाइदा गरेको उनको भनाइ छ।

निर्वाचनबाट स्थानीय तहमा पार्टीले प्राप्त गरेको सिटअनुसार पार्टीलाई फइदा पुगेको देखिए पनि समग्रमा पार्टी बेफाइदामा गएको उनको निष्कर्ष छ। “स्थानीय तहमा हाम्रो पार्टीको अवस्था कस्तो छ भनेर मूल्यांकन गर्न पाउने अवसर थियो स्थानीय तहको निर्वाचन,” खतिवडा भन्छन्, “स्थानीय तहको निर्वाचनमा बढी तहमा निर्वाचन जित्न ध्यान दिँदै गर्दा संगठन सुधारमा पार्टीले ध्यान दिन नसक्दा त्यसले पार्टीलाई फाइदाभन्दा बेफाइदा गर्‍यो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved