भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर आजै स्वदेश फर्किँदै

लुम्बिनी ओर्लिना साथ मोदी लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर जाने कार्यक्रम छ। मायादेवी मन्दिर परिसरमा करिब एक घण्टा बिताएर उनले नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा लुम्बिनीमा निर्माण हुने विहार शिलान्यास गर्नेछन्।

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर आजै स्वदेश फर्किँदै
फाईल फोटो

भैरहवा। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक लुम्बिनी भ्रमणमा आउँदैछन्। लुम्बिनी भ्रमणमा आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री समेत हुन्।

लुम्बिनी भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी बिहान साढे १० मा नेपाल अवतरण गर्ने कार्यक्रम छ। राजधानी दिल्लीबाट भारतको कुशीनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर मोदी भारतीय सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउँदै छन्। नवनिर्मित बौद्धसभा हलअघि मोदीको अवतरणका लागि हेलिप्याडको व्यवस्था गरिएको छ।

लुम्बिनी ओर्लिना साथ मोदी लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर जाने कार्यक्रम छ। मायादेवी मन्दिर परिसरमा करिब एक घण्टा बिताएर उनले नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा लुम्बिनीमा निर्माण हुने विहार शिलान्यास गर्नेछन्। भारतले निर्माण गर्ने विहार बाबुल जेभी निर्माण सेवाले गर्नेछ। मायादेवी मन्दिरबाट मोदी विहार शिलान्यासस्थलतर्फ जाने कार्यक्रम रहे पनि मोदीले मायादेवी मन्दिर परिसरमा केही समय ध्यान गर्ने बताइएको छ। यद्यपि, मोदीले ध्यान गर्ने विषयमा भने आधिकारिक सूचना बाहिर आएको छैन।

विहार शिलन्यासस्थलबाट मोदी लुम्बिनीमा रहेको पवन होटेलमा जाने कार्यक्रम छ। केहीबेरको विश्रामपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच दुई पक्षीय भेटवार्ताको कार्यक्रम तय भएको छ। यस्तै लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत शिष्टाचार भेटवार्ता गर्नेछन्। भेटवार्तापछि दुई देशबीच विकास निर्माणका विभिन्न विषयमा एक सम्झौता हुने बताइएको छ। प्रधानमन्त्री देउवाले यसअघि भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सेती जलविद्युत निर्माणका लागि आग्रह गर्ने बताएका कारण पनि यो विषयमा सम्झौता हुने अपेक्षा गरिएको छ।

१८ चैतबाट नेपालका प्रधानमन्त्री देउवाले तीन दिने भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको छलफल जुन विषयमा टुङ्गिएको थियो। आजको वार्ता त्यही विन्दुबाट शुरु हुने अपेक्षा गरिएको छ। दिल्ली वार्तामा नेपाल भारत सीमा विवादलगायतका विषय प्राथमिकतामा परेको थियो। दुई प्रधानमन्त्रीको भेटपछि संयुक्त विज्ञप्ति प्रकाशित नभए पनि नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग सीमा समस्या समाधानका लागि वार्ताको आग्रह गरेका थिए। मोदी त्यस विषयमा केही सकारात्मक रहेको बताइए पनि सञ्चार माध्यममा त्यो सार्वजनिक हुँदा केही असन्तुष्ट रहेको बताइन्छ।

यस्तै आजै नेपालका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा पवन होटेलमा नै दिवाभोजको आयोजना गरेका छन्। प्रधानमन्त्री देउवाले मोदीको सम्मानमा आयोजना गरेको दिवाभोज कार्यक्रमपछि मोदी अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा जाने छन्। उक्त हलको प्रधानमन्त्री देउवाले आजै उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सभाहलबाट दुवै देशका प्रधानमन्त्रीले केही लामाहरूको उपस्थितिमा त्यहाँ उपस्थिति मानिसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमका लागि करिब दुई सय मानिसलाई निमन्त्रणा गरिएको छ। सम्बोधन कार्यक्रमपछि भारतीय प्रधानमन्त्री आजै भारतीय सेनाको हेलिकप्टरमार्फत कुशीनगर हुँदै दिल्ली प्रस्थान गर्दै छन्। यसरी करिब साढे १० मा नेपाल उत्रिने कार्यक्रम रहेको भारतीय प्रधानमन्त्री करिब ६ घण्टाको लुम्बिनी बसाइँपछि स्वदेश फर्किने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved