चार मेट्रिक टन फोहर व्यवस्थापन

ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ।

नेपालभ्युज

चार मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं। बागमती सफाइ महाभियानको ४७० औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती नदी किनारमा सफाइ गरिएको हो।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, स्थानीय, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु एवं वाग्मती अभियानकर्मीलगायतको सहभागिता थियो।

सो अवसरमा वाग्मती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ। नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ। अर्को हप्ता शनिबार बिहान बढीभन्दा बढी स्थानीयलाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए।

आगामी शनिबार सिनामङ्गलस्थित वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उहाँले सुनाउनुभयो। ५ जेठ २०७० देखि शुरु भएको सफाइ महाभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाभियान रोकिएको छैन। महाभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको बताइएको छ।

गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved