देशमा निर्वाचन, विमानस्थलमा विदेश जाने युवाको लाइन

“छोरा घर फर्केर आउँदा खुशी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ”, मानसिंहले गहभरी आँशु पार्दै भने, “यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कति राम्रो हुन्थ्यो होला।”

देशमा निर्वाचन, विमानस्थलमा विदेश जाने युवाको लाइन

काठमाडौं। उमेर साढे आठ दशक। शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौँ बनस्थलीका मानसिंह विष्ट।

विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन मन छैन तर उनी रोक्न पनि सक्दैनन्। निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेका कारण अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए। छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए।

“विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन। आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्‍यो,” किसनले सुनाए। आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ। मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाइ नगरी उनी घरमै बस्न सकेनन्।

“छोरा घर फर्केर आउँदा खुशी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ”, मानसिंहले गहभरी आँशु पार्दै भने, “यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कति राम्रो हुन्थ्यो होला।”

स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिनभन्दा विमानस्थलमा आज चाप अलिक कम थियो।

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर। रोजगारीको खोजीमा भौँतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ।

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन्। श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ। विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्राे सामु छ।

तर, देशभित्र निर्वाचन चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैँमा हृदयविदारक दृश्य भन्दा फरक थिएन। धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन्।

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उनका काका नै प्रमुखको उम्मेदवार छन्।

“देशभित्र रोजगारी छैन, खानुपर्‍याे, परिवार पाल्नुपर्‍याे, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन” यादवले भने, “म र म जस्ताको दुःख सम्बोधन गर्नेगरी यसपटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जाने थिइनँ।”

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रिएका यादव कुराकानीका क्रममा मलिन सुनिए । उनको गला अवरुद्ध भइरहेको थियो । “परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता।”

पाँच महिनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन्। विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेगरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुशी लाग्ने उनले बताए।

मोरङ उर्लाबारीका अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर पनि विमानस्थलमा छन्। राउतले भने, “निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन। निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।” यादव बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत छन्।

बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भने, “निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।” नगेन्द्र मगरलाई विदेश उड्ने इच्छा रहेनछ। “देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन” मगरले भने।

झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ। ट्रली धकेल्दै उनले भने, “निर्वाचन भनेर भएन। हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन्। प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ। सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ।

विमानस्थलमा कोही आफ्ना छोरा बिदाइ गर्न आएका आमाहरु भेटिए। कोही श्रीमान् बिदाइ गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए। देशमा लोकतन्त्रको अभ्यास भइरहेको बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि खुशी देखिँदैनथ्यो।

निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए। दुखित मन लिएर उड्नेहरु कति खुशी भएर फर्केलान्, कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन। तर यसरी देशमा चुनाव भइरहेकै बेला विदेशिने रहर भने कसलाई पो होला र?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved