गरीबको चमेली बोल्दिने कोही छैन…

कैयौँ रात भोकै सुतेका कष्टकर दिन छन् उनीहरूसँग। यो परिवार उहिले धेरै पटक सशस्त्र द्वन्द्वको शिकार पनि भयो। व्यवस्था पनि फेरियो, तर यो परिवारको अझै अवस्था फेरिएन। न सुत्नका लागि ओछ्यान छ, न त खानका लागि अन्न।

नेपालभ्युज

गरीबको चमेली बोल्दिने कोही छैन…
तस्वीर : युनिसेफ

गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन

गरीबको चमेली बोल्दिने कोही छैन

आजभन्दा २५ वर्ष पहिले निर्माण भएको चलचित्र बलिदानको यो गीत जस्तै छ गरीबहरूका लागि आज पनि यो मुलुक। उनीहरूका लागि अवस्था पनि अझै उस्तै छ, व्यवस्था पनि उस्तै छ।

रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन्। जन्मजात यस्तो समस्या भएका उनीहरू रोल्पा अस्पतालनजिक सरकारले बनाइदिएको घरमा बस्छ।

उनको घर हुँदै हुलका हुल गाडीका लस्करसहित नेता कार्यकर्ताहरू धेरै पटक उनको घरै छेउबाट गरिबी निवारण र समृद्धिको नारा पस्कँदै ओहोरदोहोर गरेका छन्। तर कसैको दृष्टिमा परेको छैन सुनार परिवार। बोल्न नसक्ने उनीहरू हातको संकेतले कुरा गर्छन्।  कैयौँ रात भोकभोकै सुतेको कष्टकर दिनहरू पनि छन् उनीहरूसँग। राजनीतिको ‘र’ थाहा नभएको यो परिवार धेरै पटक सशस्त्र द्वन्द्वको शिकार पनि भयो। व्यवस्था पनि फेरियो, तर यो परिवारका लागि न सुत्नका लागि ओछ्यान छ, न त खानको लागि अन्न नै।

मागेर पेट पाल्ने तीन दाजु बहिनी संकेतबाट कुरा गर्छन्। वृद्धावस्थाका कारण राम्रोसँग आँखा नदेखे पनि जीविका धान्ने उपाय बनेको दाम्ला र डोरी बुन्ने काम भने छाड्न सकेका छैनन्। जाडो होस् या गर्मी एकसरो कपडा रहन्छ उनीहरूसँग। सुत्नका लागि ओड्ने/ओछ्याउने कपडा नहुँदा उनीहरूका कयौँ रात कठाङ्ग्रिएर बिते।

उनीहरूको खुट्टाले अहिलेसम्म जुत्ता चप्पल देख्न पाएको छैन। हिउँद होस् वा वर्षा खाली खट्टा हिँड्नुको विकल्प छैन। उनीहरू बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका थिए। पछिल्लो पटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन्।

दाजु गोपाल र भाइ प्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन्। दाम्लो र डोरी बुनेवापत दिने दुई–चार माना अन्न र सय–पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार। उनीहरू गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्छ। त्यस्ता काममा गएका उनीहरूलाई गाउँलेले कृपा गरेर दिने एक–दुई सय रुपैयाँ पनि साँझ बिहान जोहो गर्ने आधार बनेको छ।

वडा कार्यालयले गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक रु एक हजार र प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको छ। आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन् आएकाले भत्ता दिइएको छैन।

यस्तै रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो। नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो। अहिले उनी १७ वर्षकी भइन्।

आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो। बुबा पनि अपाङ्ग छन्। बुबाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन्। घरमा १४ वर्षकी विपना र नौ वर्षकी दीपा दुई अवोध बहिनीहरू तथा ८१ वर्षीय हजुर आमा नौला घर्तीमगर मात्रै छन्। दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनीको भाग चल्दैन। दाँया खुट्टामा ठूलठूला घाउ आएका छन्। घाउ पाकेर पिप चुहिन्छ। उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ।

आमा छँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उनको उपचारका लागी दाङको गोरखा अस्पताल, काठमाडौँको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, बनेपाको शिर मेमोरियस अस्पताल जस्ता दर्जनौँ अस्पताल पुर्‍याए पनि घरको आर्थिक अवस्था कमजोर भएकी उनको पैसा अभावले राम्रो उपचार हुन पाएन। ऋण धेरै भएपछि परिवारले रु सात लाख मूल्यमा खेत पनि बेच्यो। उपचार गर्दा विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न खेत बेचेको पैसा पुगेन।

घर अगाडि तीन महिना खान नपुग्ने पाखोबारीबाहेक अब उनको परिवारसँग अरु थोक केही छैन। साँझ बिहानको हातमुख जोड्न समस्या छ। अहिलेसम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन्। “अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्न हम्मेहम्मे परेको मलाई लामो समयसम्म सहयोग गर्न सक्ने हैसियत छैन”, उनकी सानीआमा विर्षना घर्तीमगरले भनिन्।

रोल्पा नगरपालिका र माडी गाउँपालिकामा गरिबीका दुई प्रतिनिधि घटना हुन्। रोल्पाको कूल जनसङ्ख्याको आधा अझै गरिबीको रेखामुनी छ। नेपाल गरिबी लघुक्षेत्र अनुमानअनुसार रोल्पामा गरिबको सङ्ख्या ५७ हजार ५०४ छ। यो जिल्लाको कूल जनसङ्ख्याको करिब आधा हो। जिल्लामा गरिबीको यति ठूलो सङ्ख्या रहे पनि यहाँका राजनीतिक दलको प्राथमिकतामा गरिबी परेको छैन।

“चुनावमा तयार गरिने घोषणापत्रमा गरिबी प्राथमिकतामा पर्दैन”, रोल्पा–२ का समाजसेवी भिमसेन घर्तीमगरले भने, “पूर्वाधार लगायतका क्षेत्र रोज्ने दलहरू घोषणापत्रमै यो क्षेत्रलाई छुटाउने गर्छन्, यहाँका स्थानीय सरकार गरिबमुखी कार्यक्रममा कहिल्यै अग्रसर हुँदैनन्।”

सामाजिक–आर्थिक तथा अन्य दृष्टिले पछि परेको रोल्पा समग्र विकास सूचकाङ्कमा नेपालका ७७ जिल्लामध्ये ६८औँ स्थानमा छ। यहाँका राजनीतिक दल र स्थानीय सरकार भने विकासको नमूना पस्किदै यहाँका अग्ला डाँडामा भ्युटावर बनाउने प्रतिस्पर्धामा छन्। बितेका पाँच वर्षमा यहाँ चार वटा भ्युटावर बनिसकेका छन्।

“गरिबी निवारण हरेक दलको प्राथमिकताको विषय हुनुपर्ने हो तर त्यसो देखिएन”, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष तीथा आचार्यले भने, “उनीहरूको प्राथमिकतामा भौतिक पूर्वाधार पर्दा यो क्षेत्र छुट्ने गरेको देखिन्छ।” आचार्यका अनुसार आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्रमा यो क्षेत्रले प्राथमिकता पाएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved