ओलीको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन : कांग्रेस

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महत ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा नपुग्ने दाबी गरे।

नेपालभ्युज

ओलीको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन : कांग्रेस
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई हानेको  क्षेप्यास्त्र बीचमै खस्ने दाबी गरेको छ। ओलीले दाबी गरेजस्तो गठबन्धनको आयु १७ असारसम्म रहेको भन्ने कुरा सत्य नहुने भन्दै कांग्रेसले ‘मनोवैज्ञानिक झटारो’ रहेको बताएको छ।

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीका अभिव्यक्ति मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सकिन्छ कि भनेर आएको रूपमा अर्थ लगाएका छन्।

ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा नपुग्ने दाबी उनले गरे। ‘‘ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नुभएको हो। सत्तागठबन्धन टिक्दैन किन मतदान गर्नुहुन्छ भन्ने उहाँले मनोवैज्ञानिक क्षेप्यास्त्र प्रयोग गर्नुभएको हो,’’ उनले भने, ‘‘उहाँको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन।’’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरी सत्तागठबन्धन १७ असारपछि भत्कने ज्योतिषीहरूले बताएको अभिव्यक्ति दिएका थिए। शनिबार एक आमसभामा उनले सोही कुरा दोहोर्‍याएका थिए। त्यसप्रति लक्षित गर्दै कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै सत्तागठबन्धन निरन्तर रूपमा अघि बढ्ने प्रष्ट्याएको हो।

डा. महतले भने ‘‘एकदमै साँच्चिकै हो जसरी भन्ने उहाँ(ओली)को विशेषता नै हो। उखान टुक्का जोडेर भनेपछि सरल सीधा जनताले पत्याइहाल्ने बानी छ। काम उहाँको विशेषता होइन, कुरा उहाँको विशेषता हो। यो पनि मनोबैज्ञानिक झटारो हान्नुभएको हो। लक्ष्यमा पुग्दैन। बिचमै गर्छ।’’ डा महतले एमाले अध्यक्ष ओलीका मनोरञ्जन दिने, हँसाउने विशेषता रहेको उनले टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved