गठबन्धनबारे ओलीको टिप्पणी : बिरालो किन्नुपर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ

उनले भने, ‘‘हामीसँग बिरालो किन्न कांग्रेसको भन्दा बढी क्रयशक्ति छ।”

नेपालभ्युज

गठबन्धनबारे ओलीको टिप्पणी : बिरालो किन्नुपर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहेको खण्डमा एक साताभित्रै पाँचदलीय गठबन्धन टुटाउन सक्ने टिप्पणी गरेका छन्। आज पार्टीको केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरी उनले आफूले चाहेको खण्डमा एक साताभन्दा बढी नलाग्ने टिप्पणी गरे।

गठबन्धनमा आवद्ध दलहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने बताउँदै उनले एमालेसँग बिराला खरीदका लागि कांग्रेसको भन्दा बढी क्रयशक्ति भएको बताए। गठबन्धन टुटाउनसक्ने आधारबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘‘बिरालो किन्न पर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ। हामीसँग बिरालो किन्न कांग्रेसको भन्दा बढी क्रयशक्ति छ।”

कार्यक्रम अवधिभर कांग्रेसको चर्को आलोचना गरेका उनले एमालेले कांग्रेससँग कहिल्यै सहकार्य नगर्ने बताए।  दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर कांग्रेसले गठबन्धन सरकार चलाएको उनको भनाइ थियो। जसरी पनि कांग्रेसले मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ता भोग गर्ने टिप्पणी उनले गरे।

उनले भने, ‘‘ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षडयन्त्र र मिलावटबाटै सत्ता भोग गर्न चाहन्छ। आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनतामाथि विश्वास गर्दैन।’’

एमालेले देशको समृद्धि र विकासका लागि काम गरेको दाबी गर्दै उनले कांग्रेसले देशको समृद्धि र विकासलाई सपना र कोरा सपना देख्ने गरेको बताए। कांग्रेसका लागि सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हित र सद्भाव मात्रै रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved