मुस्लिम धर्मावलम्बीहरूले आज इद पर्व मनाउँदै

कोभिड महामारीका कारण प्रभावित बनेको इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। यो वर्ष कोभिड सामान्य भएसँगै आज एक आपसमा खुशी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइन लागिएको हो।

नेपालभ्युज

मुस्लिम धर्मावलम्बीहरूले आज इद पर्व मनाउँदै

काठमाडौं। कोभिड महामारीका कारण प्रभावित बनेको इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। यो वर्ष कोभिड सामान्य भएसँगै आज एक आपसमा खुशी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइन लागिएको हो। समूहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन।
३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो। आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ।

आजको दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो। विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो। रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ।

इदको नमाज पढ्नु अघि रमजानमै प्रत्येक मुसलमानले जनही १ किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा अनिवार्य दिनुपर्ने मान्यता छ। फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved