रेनु दाहालको चुनावी अभियानमा माधव नेपाल र विमलेन्द्र निधि

महानगरपालिकाभित्रका २९ वडामा २० वडाध्यक्ष कांग्रेसले प्राप्त गरेको छ भने वडा नंम्बर ९, १२ र २२ एकीकृत समाजवादीको भागमा परेको छ। यस्तै बाँकी ६ वडा माओवादी केन्द्रको भागमा रहेको छ।

नेपालभ्युज

रेनु दाहालको चुनावी अभियानमा माधव नेपाल र विमलेन्द्र निधि

काठमाडौं। रेनु दाहालको चुनावी प्रचार अभियानमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधि भरतपुर गएका छन्।

गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको साझा उम्मेदवार बनेकी दाहालको औपचारिक हिसाबमा निर्वाचन प्रचार प्रसार शुरु भएको छैन। निर्वाचन प्रचारका लागि १५ वैशाखमा गठबन्धन दलले चितवन मेडिकल कलेज अगाडि कार्यालय स्थापना गरे पनि औपचारिक प्रचारको कार्यक्रम भने शुरु भएको छैन।

भरतपुर महानगरपालिकाका नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी विजय सुवेदीले आफ्नो निर्वाचन प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम शुरु गरिसकेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि आफ्नो प्रचार अभियान शुरु गरिसकेको अवस्थामा दाहालको प्रचार अभियान भने शुरु भएको छैन।

दाहालकै चुनावी अभियानमा सहभागी हुन भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस नेता निधि भरतपुर गएका हुन्। गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रका भागमा पर्दा उपमेयर पदमा भने कांग्रेसका चित्रसेन अधिकारीले टिकट पाएका छन्।

भरतपुर महानगरपालिका कांग्रेसले पाउनुपर्ने अवाज उठाएका मध्ये जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पौडेलको स्वतन्त्र उम्मेदवारीका कारण दाहाललाई भरतपुरको मेयर पद जित्न सहज नहुने धेरैको विश्वास रहेको छ। त्यसैका लागि पनि उनको चुनावी अभियानमा केन्द्रबाट नै नेताहरु भरतपुर निर्वाचन प्रचारका लागि सहभागी हुने भएका हुन्।

नेकपा एमालेले भरतपुरमा आयोजना गर्ने चुनावी प्रचार अभियानलाई २६ वैशाखमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम बन्दा दाहालको निर्वाचन प्रचारका लागि शुरुआती चरणबाट नै केन्द्रीय नेता उपस्थित हुन लागेका हुन्।

महानगरपालिकाभित्रका २९ वडामा २० वडाध्यक्ष कांग्रेसले प्राप्त गरेको छ भने वडा नंम्बर ९, १२ र २२ एकीकृत समाजवादीको भागमा परेको छ। यस्तै बाँकी ६ वडा माओवादी केन्द्रको भागमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved