मकवानपुरका दलहरूलाई बागी उम्मेदवारको पिरलो, गठबन्धन मारमा

जिल्लाको विभिन्न पालिकाहरूमा गठबन्धन गर्ने गरी भागबण्डा मिले पनि गठबन्धनका सबै दलहरूले उम्मेदवारी दिएपछि दलहरूलाई सकस भएको छ।

मकवानपुरका दलहरूलाई बागी उम्मेदवारको पिरलो, गठबन्धन मारमा

हेटौंडा। मकवानपुरका पालिकाहरूमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारहरू उठेपछि दलहरूलाई चिन्ता थपिएको छ।

जिल्लाको विभिन्न पालिकाहरूमा गठबन्धन गर्ने गरी भागबण्डा मिले पनि गठबन्धनका सबै दलहरूले उम्मेदवारी दिएपछि दलहरूलाई सकस भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ।

शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने कार्यसूची निर्वाचन आयोगले निकालेको छ।

जिल्लाका विभिन्न पालिकाहरूमा गठबन्धन गर्ने निर्णय प्रदेश तहबाट भएर भागबण्डा पनि टुंगिसकेपछि पनि स्थानीय तहमा दलहरूले आआफ्नो उम्मेदवार उठाएका छन्। सहमतिअनुसार उम्मेदवारी दर्ता नुहँदा तालमेलमा असर पुग्ने देखिएको छ।

मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा गठबन्धन तोडेर उम्मेदवारी दर्ता भएको छ।

मकवानपुरको कैलाश, मनहरी, राक्सिराङ, इन्द्रसरोवर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेलविपरीत उम्मेदवारी दर्ता भएको छ। हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ। यद्यपि वडा तहमा भने तालमेल हुन सकेको छैन।

बकैयामा नेपाली कांग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख, कैलाशमा प्रमुख कांग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र, मनहरीमा कांग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख र इन्द्रसरोवर गाउँपालिकामा नेकपा एकीकृत समाजवादीलाई प्रमुख र उपप्रमुख कांग्रेसको भागमा प्रदेश तहमा गठबन्धनको सहमति भएको थियो। तर, यी पालिकाहरूको प्रमुख उपप्रमुख दुवै पदमा गठबन्धनको दुवै दलले उम्मेदवारी दिएका छन्।

“म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन सक्दिनँ,” हेटौंडा २ को वडा अध्यक्षका उम्मेदवार सुदीप राजबाहकले भने, “पार्टीमा मैले शुरुदेखि नै लबिङ गर्दै आएको थिएँ। मेरो पक्षमा युवाहरू छन्। तर, पार्टीले मेरो कुरा सुनेन। म जितेर देखाइदिन्छु।”

स्थानीयस्तरमा दलहरूबीच सहमति हुन नसक्दा चुनौती थपिएको छ। बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन दलहरूले अपिल गरेका छन्। फिर्ता नलिए कारबाही गर्ने दलहरूको चेतावनी दिएका छन्। “हामीले जिल्लाहरूमा गठबन्धन गरेका छौं सोहीअनुसार उम्मेदवारहरू आएका छन्,” नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भने, “हामीले विनम्रतापूर्वक फिर्ता लिन आग्रह गरेका छौं। फिर्ता भएन भने कारबाही गर्नेछौं।”

सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टीले मकवानपुरको हेटौंडासहित धेरैजसो स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ। जसपालाई सत्ता गठबन्धनले नसमेटेका कारण उसले छुट्टै उम्मेदवारी दिएको हो। गठबन्धन हुँदा जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच मात्रै भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved