चुनाव नजिकिएसँगै रातमा रेष्टुराँ नखोल्न र मदिरा नबेच्न आग्रह

चुनाव नजिकिएसँगै रातमा रेष्टुराँ नखोल्न र मदिरा नबेच्न आग्रह
सांकेतिक तस्वीर।

बागलुङ। चुनावका बेला अवाञ्छित क्रियाकलाप नहोस् भनेर यहाँका राजनीतिक दलले राति अबेरसम्म रेष्टुराँ नखोल्न र मदिरा नबेच्न व्यवसायीसामु आग्रह गरेका छन्। गलकोट नगरपालिका–७ मल्मको वाम–लोकतान्त्रिक गठबन्धन दलको संयन्त्रले बैठकबाटै निर्णय गरी सार्वजनिक रुपमा सोको अपिल गरेको हो।

“राति ९ बजेपछि वडाभित्र सञ्चालित रेष्टुराँको सेवा बन्द गर्न र मदिराजन्य वस्तु नबेच्न आग्रह गरेका छौँ”, संयन्त्रका सदस्य एवं नेकपा माओवादी केन्द्र वडा समिति अध्यक्ष ललित मरासिनीले बताए।

मत प्रभावित पार्ने गरी गलत चलखेल हुन नदिन र घरगाउँमा शान्ति कायम राख्न राजनीतिक दलहरु आफैले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ। अध्यक्ष मरासिनीले आफ्नो पार्टीका चुनावलक्षित भेटघाट र घरदैलो अभियानलाई पनि बिहानदेखि साँझसम्म मात्र चलाउन जोड दिइएको बताए।

राति ढिलोसम्म होटल, रेष्टुराँमा बसेर बैठक/छलफल चलाउँदा खर्चिलो पनि हुने र अर्कातिर कसैले मदिरा सेवन गरिहालेमा अप्रिय घटना हुनसक्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।मल्ममा तीन दलको वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार चुनावी मैदानमा छन्। गठबन्धन दलको संयन्त्र गठन गरेर चुनाव परिचालनलाई गति दिइएको छ।सम्बन्धित दल र उम्मेदवारहरुले मतदाता भेटघाट तथा घरदैलो अभियान थालेका छन्।

संयन्त्रमा माओवादी केन्द्रबाट ललित मरासिनी, नेपाली कांग्रेसबाट बसन्त क्षत्री, प्रदीप केसी र राष्ट्रिय जनमोर्चाबाट दलबहादुर थापा र मीनबहादुर दर्जी रहेका छन्। संयन्त्रको बैठकले घोषणापत्र लेखन समिति, तीनै दलबाट चार/चार जना रहने गरी १२ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति र स्यंवसेवक समिति पनि गठन गरेको छ। गठबन्धनका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका राज थापा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

यस्तै वडा सदस्यमा (माओवादी) केन्द्रबाट छविलाल दर्जी, यानु विक, नेपाली कांग्रेसबाट ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशोदा थापा उम्मेदवार रहेका छन्। वडामा क्रियाशील अर्को दल नेकपा एमालेले भने नेता होमबहादुर बस्नेतलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ। विसं २०७४ को स्थानीय तह चुनावमा उक्त वडामा माओवादी केन्द्रले एक्लै जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved