सुन्दरीजलमा झर्‍यो मेलम्चीको पानी

नेपालभ्युज

सुन्दरीजलमा झर्‍यो मेलम्चीको पानी

काठमाडौं। गत २९ चैतमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ।

सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले बताए। पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो। च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो।

२०७७ चैतमा मेलम्चीको पानी काठमाडौंमा वितरण थालिएकोमा त्यसको तीन महीनापछि नै सिन्धुपाल्चोकमा आएको बाढीका कारण बन्द भएको थियो। बाढीले क्षति पुगेपछि बन्द गरिएको सुरुङको फोहोर पखालेर पानी अहिले बागमतीमा छोडिएको छ।

मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको देखिन्छ। अहिले बागमती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए। गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो। क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए। मेलम्चीको पानी सुन्दरीजल आएसँगै आजै खानेपानीमन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved