११ वैशाखभित्र मेलम्चीको पानी आउने खानेपानी मन्त्रीको घोषणा

नेपालभ्युज

११ वैशाखभित्र मेलम्चीको पानी आउने खानेपानी मन्त्रीको घोषणा

भक्तपुर। काठमाडौं उपत्यकामा ११ वैशाखभित्रै मेलम्चीको पानी वितरण गर्न थालिने खानेपानी मन्त्री उमाकान्त चौधरीले बताएका छन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री चौधरीले उपत्यकाबासीलाई दीर्घकालीन रुपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन २९ चैत २०७८ मा मेलम्चीको पानी पथान्तरण गरिसकिएको बताए।

“१५ चैत २०७७ मा क्रमिक रुपमा मेलम्चीको पानी पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य शुरु गरिएको थियो,” उनले भने, “१ असार २०७८ पछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको थियो। अब ११ वैशाख भित्र मेलम्ची खानेपानी आइसक्छ।”

मन्त्री चौधरीका अनुसार मन्त्रालयले मेलम्चीको पानीको विकल्पमा सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताए। कार्यक्रमका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पनि पठाउन आग्रह गरे।

“खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुन सक्छ,” उनले भने, “भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्छ। खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई केयूकेएल र पीआईडीले मनन गर्नुपर्छ।”

वार्षिकोत्सवकै अवसर पारेर मन्त्री चौधरीले ‘वार रुम’ को समेत उद्घाटन गरेका थिए भने बोर्डको वार्षिक प्रतिवेदनको समेत लोकार्पण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved