महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनलाई सकस

सत्तागठबन्धनमा आबद्ध पाँच दलमा ६ महानगरमध्ये कांग्रेसले ३, माओवादी, एकीकृत समाजवादी र जसपाले एकएक महानगरमा भागबन्डा गर्ने र सोहीअनुसार उम्मेदवार तय गर्ने तयारी गरेको छ।

नेपालभ्युज

महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनलाई सकस

काठमाडौं। सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा आज केन्द्रबाटै टुङ्गो लगाउने तयारी गरेको छ। स्थानीय तहमा चुनावी तालमेल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने केन्द्रबाट भागबन्डा गर्न लागेको हो।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबन्डा गर्न आज पनि गठबन्धनको बैठक बस्दैछ।

सत्तागठबन्धनमा आबद्ध पाँच दलमा ६ महानगरमध्ये कांग्रेसले ३, माओवादी, एकीकृत समाजवादी र जसपाले एकएक महानगरमा भागबन्डा गर्ने र सोहीअनुसार उम्मेदवार तय गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो। महानगरमा करिब सहमति जुटेपनि उपमहानगरमा भने दलहरूका आ–आफ्नै अडानले गर्दा कुन दलले कुन उपमहानगर लिने भन्नेमा सहमति जुट्न नसकेको छैन।

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पोखरा महानगरपालिकासहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ। इटहरी, हेटौँडा र तुलसीपुर उपमहानगरपालिका प्रमुखमा दाबी गरेको छ।

चितवनको भरतपुर महानगरपालिकामा भने कांग्रेस र माओवादीको प्रतिष्ठाको लडाइँ शुरू भएको छ। माओवादीले भरतपुर महानगरपालिका दाबी गरेको छ। यदि भरतपुर नपाए काठमाडौं महानगरपालिका पाउनुपर्ने अडान राखेको छ।

यता कांग्रेसका स्थानीय नेता कार्यकर्ता भरतपुर महानगर छाड्ने पक्षमा छैनन्। उनीहरूमा देखिएको असन्तुष्टि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि टाउको दुखाइको विषय बन्न पुगेको छ।

नेकपा एसका महासचिव वेदुराम भुसालले बैठकमा सबै दलका तर्फबाट रिपोर्टिङ, आ–आफ्ना आधार र दाबी पेस भए पनि थप निर्णय हुन बाँकी रहेको र छलफलमै क्रममा रहेको बताउँछन्। सिट बाँडफाँट गर्ने विषयमा गठबन्धनबाट गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले आन्तरिक गृहकार्यसँगै शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved