सीके राउतका कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने गृहमन्त्रीको प्रतिवद्धता

पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने प्रतिवद्धता गृहमन्त्रीले खाँणले गरेका हुन्।

नेपालभ्युज

सीके राउतका कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने प्रतिवद्धता व्यक्त गरेका छन्। जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको उनले बताए।

गृह मन्त्रालयमा आज सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए।

तत्कालीन केपी शर्मा ओलीको सरकारले २०७५ चैत २४ गते सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग ११ बूँदे सहमति गरेको थियो। कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सहमतिअनुसार सहमति कार्यान्वयन गर्न मागसहित राउतसहितका नेता आज गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय पुगेका थिए।

गृहमन्त्री खाँणले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए। मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिए।

भेटमा पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो।

उक्त पार्टीले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ।

भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved