निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त

नेपालभ्युज

निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका छन्।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने तर्क गरे। उनले भने, “गाडी छुटेको हैन। गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो। एकछिन रोक्न पनि मिल्छ। अहिले छुटेको भनेको निर्वाचनको रकेट हो। दिशा परिवर्तन र रोक्न सम्भव छैन।”

निर्वाचन आयोग चुनाव रोकेर मुलुकलाई दुर्घटनातर्फ लैजाने वा दुर्घटना निम्त्याउने पक्षमा नरहेको थपलियाले बताए। निर्वाचन हुने विषयमा कुनै पनि शंक उपशंका गर्र्ने ठाउँ नरहेको उनले प्रस्ट पारे। अहिलेसम्म ३५ जिल्लाको मतपत्र छाप्ने र निर्वाचन अधिकृतहरू समेत चयन गर्ने कार्य सम्पन्न भईसकेको उनले जानकारी दिए। उनले भने, “अब मतदाता अभिमुखीकरण सुरु हुने अवस्थामा छ। यस्तो अवस्थामा निर्वाचन रोक्न सम्भव छैन। जसरी पनि निर्वाचन हुन्छ।”

मुलुकलाई दुर्घटनाबाट जोगाउन र लोकतन्त्रलाई संरक्षणका निम्त्ति मुलुक निर्वाचनमा जानैपर्ने अवस्था रहेको थपलियाले बताए। निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बिषयमा उनले जोड दिए।

मतदाता शिक्षा र जागरणमा सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै उनले समाचार प्रकाशन गर्दा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गरे। तथ्यमा आधारित सही सूचना सम्प्रेषण गरेर खबरदारी र निगरानीलाई जारी राख्नुपर्ने उनको भनाइ थियो।

थपलियाले निर्वाचन आचारसंहिता पालनको सन्दर्भमा संचारमाध्यमदेखि राजनीतिक दलसम्म उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए। निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved