धर्मनिरपेक्षता स्वीकार्य नहुने पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको चेतावनी

नेपालभ्युज

धर्मनिरपेक्षता स्वीकार्य नहुने पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको चेतावनी

जनकपुरधाम । पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीले ‘षड्यन्त्रपूर्वक लादिएको’ धर्मनिरपेक्षता स्वीकार्य नहुने चेतावनी दिएका छन्।

सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा उनले नेपाल हिन्दू राष्ट्र नै हुनुपर्ने बताए।

जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पराजुलीले हिमालयदेखि समुद्रसम्म र इन्डोनेसिया को बाली देखि पर्सियासम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको अवस्था आउनु दुर्भाग्य रहेको बताए।

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उनले माता जानकीको आशीर्वादले अभियान सफल हुने दृढ विश्वास व्यक्त गरे।

अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले राष्ट्र भनेकै व्यक्तिहरू भएकोले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हुनुपर्ने बताए। उनले इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल हिन्दू राष्ट्र नै रहेको दाबी गरे। शासन व्यवस्था जुनसुकै भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उनको माग छ।

त्यसैगरी समाजसेवी ज्योत्सना साउदले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएकोमा धन्यवाद दिदैँ लोक कल्याणकारी राज्य नै रामराज्य भएको चर्चा गरे।
अभियानलाई सार्थकता प्राप्त हुने र नेपालले हिन्दूराष्ट्रको गौरव प्राप्त गर्ने दृढ विश्वास पनि उनले गरे।

कार्यक्रम संयाेजक मारवाडी सेवा समिति, जनकपुर का अध्यक्ष तथा उद्योगी व्यवसायी निर्मल चौधरीले विस्वासयोग्य पात्र पाएको कारण अभियान सफल हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved