काठमाडौं। चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ। चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ।
देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने विश्वास रहेको कोषका सदस्य विमलमान श्रेष्ठले बताए।
वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ।
यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भक्तजनले दर्शन गरेका छन्। गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ। मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ।
Facebook Comment
Comment