नदी कटान नियन्‍त्रण गर्न राप्तीमा आरसीसी पर्खाल लगाइँदै

नेपालभ्युज

नदी कटान नियन्‍त्रण गर्न राप्तीमा आरसीसी पर्खाल लगाइँदै
Chitwan: Sauraha

काठमाडौं। नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम अगाडि बढेको छ।

पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने काम अगाडि बढेको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिए।

आर्थिक वर्ष ०७७/७८ को साउनबाट निर्माण कार्य सुरु भएको परियोजना सम्पन्न भएपछि नदी कटान समस्या समाधान हुने उनको विश्वास छ।

बहुवर्षे कार्यक्रमअन्तर्गत नदी नियन्त्रणका लागि अहिले काम भइराखेको छ। लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६।८ किलोमिटर लम्बाइ भएको ड्याम नेपालमा नै पहिलो संरचना हुने प्रमुख थापाले बताउनुभयो। ढुङ्गाको तारजाली भएका ड्याम धेरै स्थानमा छन्, उनले भने, ‘ती ड्याम लामो समयसम्म टिक्न सक्दैन, अब यस्ता आरसीसी ड्यामले दीर्घकालीन समाधानको काम गर्दछ।’

लोथरदेखि सौराहासम्म निर्माण हुने पर्खालको उचाइ छ मिटरको हुनेछ। माथि करिब छ मिटरको चौडाइ फराकिलो सडक निर्माण हुने भएकाले वैकल्पिक राजमार्गका रूपमा रहनेछ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकबाट सौराहा लोथर सडक भएकाले छिटो यात्रा गर्नसकिने, नदी कटान समस्या समाधान हुने उनले जानकारी दिए।

चार अर्ब २८ करोड रुपियाँ बराबरको लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यो परियोजनाको काम गत वर्षबाट सुरु भएको हो। सुरुमा एक करोड रुपियाँ विनियोजन भएको यस योजनामा हरेक वर्ष बजेट वृद्धि गर्दै लैजाने गरी बजेट सुनिश्चित भएको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।

पहिलो वर्ष थोरै बजेट आएकाले काम धेरै हुन सकेको छैन अब बजेट वृद्धि भएर आएपछि निर्माणले तीव्रता पाउँछ। कार्यालय प्रमुख थापाका अनुसार बहुवर्षे योजनाअनुसार सरकारले प्राथमिकताका आधारमा अब बजेट वृद्धि गर्दै लैजाने छ। ड्याम निर्माण सम्पन्न भएपछि पर्यटकीय क्षेत्र सौराहा कटान समस्या समाधान हुनेछ।

पूर्वी चितवनवासीलाई सधैँ राप्ती नदी कटानको समस्याले सताउने गरेको थियो राप्ती नगरपालिकाका स्थानीय घनश्याम कँडेलले भने, ‘यो निर्माण सम्पन्न भएपछि नदी नियन्त्रण मात्र होइन, आयआर्जनको बाटोसमेत बन्नेछ। ’ ड्यामसँग सडक निर्माण हुने भएकाले त्यस क्षेत्रको आर्थिक गतिविधि वृद्धि हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved