आयोगमा दलहरूको प्रतिबद्धताः निर्वाचन आचारसंहिता पालना गर्छौं

नेपालभ्युज

आयोगमा दलहरूको प्रतिबद्धताः निर्वाचन आचारसंहिता पालना गर्छौं

काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन छलफल गरेको थियो।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

सो आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए।

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलबिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए। तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताबारे प्रस्ट पारेसँगै दलहरू असन्तुष्टिकैबीच हस्ताक्षर गर्न तयार भएका थिए।

छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए।

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न तयार रहेको बताए। पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको उनले बताए।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताए। निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिताविपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले बताए। दलहरूबीच चुनावी गठबन्धन हुनु सिद्धान्तविपरीत र मतदाताको खरिद-बिक्रीजस्तो भएको टिप्पणी पनि गरे।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतीलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताए। आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागी नगराउने गरेको उनले बताए।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउन राजनीतिक दलहरूले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved