‘प्रधानमन्त्री ठ्याक्कै चुनावअगाडि किन भारत जानुभो? आएपछि सोध्नुपर्ला’

नेपालभ्युज

‘प्रधानमन्त्री ठ्याक्कै चुनावअगाडि किन भारत जानुभो? आएपछि सोध्नुपर्ला’
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानुभयो भनेर आशंकासमेत व्यक्त गरेका छन्।

ओलीले प्रचण्ड, माधवहरूलाई पछि पलाएको ऐँजेरुको संज्ञा दिए। भने, “प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला–यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर। यही समयमा किन जानु भो भनेर ?”

अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावकेन्द्रित भेलामा ओलीले आगामी निर्वाचनमा पाँचदलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराए।

पाँच दलीय गठबन्धन केजीको ढक भएको र आफ्नो पार्टी क्विन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो। अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नु नपर्ने जिकिर गरे। माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved