बागमतीमा दलहरू चुनावमा सक्रिय, निर्वाचन आयोग भने सुस्त

हेटौंडा। बागमती प्रदेशमा स्थानीय तहको निर्वाचनको गतिविधि सुस्त छ। सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न राजनीतिक दलहरू सक्रिय देखिए पनि निर्वाचन कार्यालय बागमती प्रदेशको तयारी भने खासै देखिएको छैन।

निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालय बागमती प्रदेशसँग अझै पनि सबै जिल्लाका तथ्यांकहरू छैनन्। प्रदेश निर्वाचन कार्यालयसँग मकवानपुर जिल्लाका केही जानकारी रहे पनि अन्य जिल्लाको तथ्यांक शून्य छ। जिल्ला निर्वाचन कार्यालयले नै सम्पूर्ण तयारी गर्ने भएकाले प्रदेशसँग तथ्यांक नरहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले बताए।

“निर्वाचन आयोगले सीधै जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गर्ने भएकाले हाम्रो खासै धेरै भूमिका रहँदैन,” पोखरेलले भने “तथ्यांकका लागि विवरणहरू जिल्लाहरूले पठाइदिए त हुने हो, तर अहिलेसम्म हामीलाई प्राप्त भएको छैन।”

निर्वाचन आयोगले नै अहिलेसम्म प्रदेशहरूलाई मतदाताको नामावली पठाएको छैन। जसका कारण बागमतीमा कति मतदाता छन् भन्ने कुरा अझै तथ्यांक आएको छैन। निर्वाचन आयोगले देशभर कति मतदाता छन् भन्ने कुरा सार्वजनिक गरे पनि प्रदेश कार्यालयहरूलाई तथ्यांक उपलब्ध गराउन सकेको छैन। “नयाँ मतदाता नामावली तयार भइसकेको छ तर हामीसम्म आएको छैन”, पोखरेलले भने, “त्यसैले अहिले नै बागमती प्रदेशमा कति मतदाता छन् भन्ने कुरा हामीले भन्न सक्दैनौ।”

यसैबीच मकवानपुरको १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले आइतबार देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोक्ने क्रममा मकवानपुरको १० वटै स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको हो।

निर्वाचन अधिकृत अहिले तोकिए पनि उनीहरूको नियुक्ति भने चैत्र २९ गते हुने पोखरेलले बताए। आयोगले आइतबार सार्वजनिक गरेको सूचनामा ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृत तोकेको थियो। आयोगले मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतको ज्येष्ठतम् न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई तोकेको छ।

जिल्लाको १० पालिकामा भने जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको छ।

स्थान छनोट अन्तिम चरणमा

मकवानपुर जिल्लाभित्र रहेका स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि स्थान छनोटको काम अन्तिम चरणमा पुगेको पोखरेलले बताए। जिल्लाको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका बाहेक सबै स्थानीय तहमा स्थान छनोट भइसकेको उनको भनाइ छ।

मकवानपुरको कैलाश गाउँपालिका, बकैया, भिमफेदी, मकवानपुर गढी ले गाउँपालिका भवनमा नै कार्यालय स्थापनाको लागि ठाउँ भएको बताएका छन् भने थाहा नगरपालिकाले विकास घर शिखरकोटमा कार्यालय स्थापना गर्न सकिने जनाएको छ।

यस्तै राक्सिराङ गाउँपालिकाले वडा नम्बर ५ को स्वास्थ्य चौकीको भवनलाई निर्वाचन अधिकृतको कार्यालयको रूपमा दिन सकिने बताएको छ। मनहरी गाउँपालिकाको वडा नम्बर ३ को सामुदायिक भवनमा कार्यालय बस्नेछ। यद्यपी विद्यालय र स्वास्थ्य चौकीमा कार्यालय स्थापना हुन नहुने आवाजहरू पनि उठिरहेका छन्।

विद्यार्थीहरू अर्को भवनमा सरिसकेकाले मात्र विद्यालयको भवन प्रयोग गर्न लागिएको पोखरेलको भनाई छ। दुई महिना अघि नै निर्वाचन आयोगले स्थानीय तहहरूलाई स्थान छनोट गर्न पत्राचार गरेको थियो।

कर्मचारीको विवरण संकलन शुरु

निर्वाचनमा खटिनको लागि कर्मचारीहरूको विवरण संकलनको काम सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अन्य १२ ओटा जिल्लामा भएका गतिविधिहरूको बारेमा जानकारी नभएको तर मकवानपुरमा विवरण संकलनका लागि सम्बन्धित पालिकामा पत्राचार गरिएको पोखरेलले बताए।

प्रारम्भिक चरणका नाम संकलनको काम भइरहेको र तीन पटक सम्म नाम संकलन गर्नु पर्ने उनले बताए। “प्रारम्भिक चरणमा कर्मचारीको विवरण माग गरेका छौं, निर्वाचन आचारसहिंता लागु नभइसकेकाले कर्मचारीहरू अझै सरुवा हुन सक्छन्,” उनले भने, “तीन पटक जतिमा मात्र हामीले कर्मचारीको एकिन तथ्यांक पाउन सक्छौ, यसको लागि समय लाग्छ।”

प्रशासनको क्रियाशीलता बढ्यो

निर्वाचन मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरक्षा क्षेत्रमा क्रियाशिलता बढाएको छ। मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माणको काम सुरु भएको छ। प्रशासन कार्यालयले मकवानपुरमा १९ मतदान स्थल अतिसंवेदनशिल रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अनुसार जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने भएको छ।

जसमा १९ वटा मतदानस्थललाई अतिसंवेदनशिल मानिएको छ। त्यसैगरी ६० वटा मतदानस्थललाई संवेदनशिल र ८६ वटा मतदानस्थललाई सामान्य गरी तीन भागमा विभाजन गरिएको पाण्डेले जानकारी दिए। जिल्लाको राक्सिराङ, कैलाश, बागमती र बकैया गाउ“पालिकाको केही मतदानस्थल लाई अतिसंवेदनशिलमा राखिएको छ। विकट ठाउँहरूलाई अति संवेदनशिल स्थलका रूपमा लिइएको पाण्डेको भनाई छ। विगतको निर्वाचनको समिक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा मतदानस्थल विभाजन गरिएको उनले बताए।

यसै हप्ताभित्र निर्वाचन स्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। यस्तै अनुमति प्राप्त हतियारहरू फिर्ता गर्न पनि प्रशासनले आग्रह गरिसकेको छ।

मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनको लागि १६५ वटा मतदान स्थल तोकिएका छन् भने तीन सय ५६ ओटा मतदान केन्द्रहरू तोकिएका छन्। स्थानीय तहमा भाग लिनका लागि मकवानपुरमा २४ वटा दलहरू दर्ता भएका छन्। स्थानीय तह निर्वाचनको लागि राजनीतिक दल तथा प्रशासन सँग समन्वय भइरहेको पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved