वाङको नेपाल भ्रमण: १२ सम्झौता हुने, बीआरआई कार्यान्वयनको सम्भावना न्यून

अप्रिलदेखि काठमाडौं-हङकङ हवाई उडान सुचारु हुने अपेक्षा गरिएको छ भने ‘मेन ल्याण्ड चीन’मा जूनपछि मात्रै उडानबारे निर्णय हुनेछ।

नेपालभ्युज

वाङको नेपाल भ्रमण: १२ सम्झौता हुने, बीआरआई कार्यान्वयनको सम्भावना न्यून

काठमाडौं । दुई उपमन्त्रीसहित २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले आज औपचारिक भेटवार्ता गर्दैछन्। भेटघाटका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। बिहान शिवपुरी हाङकिङ पुगेका उनी अपरान्हबाट भेटघाट शुरु गर्दैछन्।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणमा दुई देशबीच विभिन्न १२ विषयमा सम्झौता हुँदैछ। चीनले नेपाललाई प्रदान गर्दै आएको वार्षिक अनुदान रकम पनि वृद्धि गर्ने सहमति हुँदैछ। वार्षिक १३ अर्ब रुपैयाँ सहयोग गर्दै आएको चीनले उक्त रकमलाई वृद्धि गर्दै १५ पुर्‍याउँदैछ।

यस्तै चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच अवरुद्ध रहेको हवाई सेवा नियमित हुने आशा व्यक्त गरिएको छ। कोभिड महामारीसँगै बन्द भएको दुई देशबीचको हवाई सेवा अवरुद्ध हुँदा दुवै देशका नागरिकलाई असर पुगेको छ। हवाई सेवा बन्द रहेका कारण नेपालको पर्यटन लगायतको क्षेत्रमा ठूलो प्रभाव पर्दै आएको छ। अप्रिलदेखि काठमाडौं-हङकङ हवाई उडान सुचारु हुने अपेक्षा गरिएको छ भने ‘मेन ल्याण्ड चीन’मा जूनपछि मात्रै उडानबारे निर्णय हुनेछ।

यस्तै नेपालमा उत्पादित गाँस प्रषोदन सहित चीन निर्यातसम्बन्धी पनि सम्झौता हुँदैछ।

चिनियाँ विदेशमन्त्री यीको भ्रमणको समयमा दुई देशबीच सन् २०१७ मा भएको बीआरआई सम्झौताको विषय भने अगाडी नबढ्ने भएको छ। नेपालले बीआरआई अन्तर्गत विभिन्न ९ परियोजना कार्यान्वयन गर्ने सहमति गरेको भए पनि त्यो हालसम्म कार्यान्वयको तहमा पुगेको छैन।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको समयमा ती परियोजनामध्ये केही कार्यान्वयको तहमा पुग्ने गरी सम्झौता हुने अनुमान गरिए पनि त्यो नहुने भएको हो। “नेपाल सरकारले बीआरआई परियोजनामा अगाडी बढाउन केही समय मागेका कारण अहिलेको भ्रमणमा त्यस विषयमा कुनै ठोस प्रगति नहुने देखिएको छ,” परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

यस नेपाल सरकारले भने बीआरआई कार्यान्वयमा लैजान निर्वाचनअघि केही अप्ठेरो हुने बताउँदै चिनियाँ पक्षसँग अप्ठेरो बुझ्दिन आग्रह गरेको छ। चिनियाँ दूतावास निकट एक व्यक्तिले भने, “नेपाल सरकारको आग्रहमा बीआरआई सम्बन्धी कुनै सम्झौता नहुने बुझिएको छ।” निर्वाचन नजिक आउँदै गरेका कारण बीआरआई अन्तर्गतका परियोजनाका विषयमा सम्झौता नगर्न नेपालले आग्रह गरेको उनले बताए।

यस्ता चीनले गरेको सुपुर्दगी सन्धि सम्बन्धी आग्रहलाई पनि नेपालले तामेलीमा राखेको छ। चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका समयमा सुपुर्दगी सन्धि गर्न चिनियाँ पक्षले गरेको आग्रहलाई नेपाल सरकारले अस्वीकार गरेको हो। नेपालले सुपुर्दगी सन्धि सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरेका कारण कुनै एक देशसँग मात्रै यस्तो सन्धिमा हस्ताक्षर गर्दा नेपाललाई गाह्रो पर्ने बताउँदै नेपालले उक्त सन्धिमा हस्ताक्षर नगर्ने बताएको छ। सन् २०१८ मा नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्ने सम्झैता भएको थियो। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका समयमा यो सन्धिमा हस्ताक्षर गर्ने तयारी भए पनि अन्तिम समयमा आएर रोकिएको थियो।

चिनियाँ परराष्ट्रमन्त्री यीले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रुपमा उद्घाटन गर्दैछन्। चिनियाँ लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपालका प्रधानमन्त्री देउवा र चिनियाँ परराष्ट्रमन्त्री यीले संयुक्त रुपमा उद्घाटन गर्न लागेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved