छातीमा काखेनानी च्यापेर म्यादी प्रहरी बन्ने लाइनमा, ३० हजार कमाउने आशा

वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा भीड

म्यादी प्रहरीका लागि आवेदन दिन लामबद्धको भीडमा भेटिएकी एक जना पात्र हुन्– सपना । ‘बेबी क्यारियर’ मा सानी छोरी बोकेर लाइन बसेकी उनले भनिन्, ‘‘४० दिन काम गरेर ३० हजार रुपैयाँ हातमा पर्ने कुरा थाहा पाएँ। जागिर पाइयो भने काम गरेको पैसाले ठूलै गर्जो टर्ने थियो ।’’

छातीमा काखेनानी च्यापेर म्यादी प्रहरी बन्ने लाइनमा, ३० हजार कमाउने आशा

काठमाडौं। काठमाडौं टेकुस्थित महानगरीय प्रहरी परिसरमा स्थानीय निर्वाचनमा खटिने ‘म्यादी प्रहरी’ मा भर्ना हुनेको भीड लागेको छ । साेही भीडमा लाइन बसेकी थिइन्–सपना गुरुङ पनि।

‘म्यादी प्रहरी’ मा  भर्ना हुन लामबद्ध उनले छातीमा बोकेकी छिन्– काखे नानी। ‘बेबी क्यारियर’ मा सानी छोरी बोकेर लाइन बसेकी उनकाे स्थायी घर धादिङ  हो ।  काठमाडौंको गोकर्णमा पतिसँगै बस्ने सपनाले घरगुजारा चलाउन म्यादी प्रहरीमा जागिर खाने सोचले निवेदन दिद आएको बताइन्।

उनको श्रीमान् पनि निजी कम्पनीमा काम गर्छन्। फर्निचर उद्योगमा काम गरेर ल्याएको श्रीमान् कमाइले घर धान्न मुस्किल भएको पीडा बाध्यता सुनाइन्। त्यस कारण छोटो समयको लागि भए पनि रोजगारीको चाहनाले आएको बाध्यता सुनाइन्।

‘बेबी क्यारियर’मा काखे छोरी बोकेर उनलाई अगाडि छोरी च्यापेकाले फाराम भर्न निकै असहज भएको थियो । लाइन बसेर फाराम बुझाएपछि उनले भनिन्, ‘‘बिहान हतार– हतार गरेर आएको, तैपनि ढिला भइसकेछ। तीन घण्टा लाइन बसेपछि बल्ल फाराम बुझाउने पालो आयो।’’

म्यादी प्रहरीमा छनोट हुनसके केही पैसा कमाइ हुने उनले सुनेकी छिन्। आम्दानीको कुनै स्रोत नभएको अवस्थामा एकमुष्ट ३० हजार रुपैयाँ हात पर्दा घर–व्यवहार चलाउन निकै सजिलो हुने उनको विश्वास छ। ‘‘४० दिन काम गरेर ३० हजार रुपैयाँ हातमा पर्ने कुरा थाहा पाएँ। जागिर पाइयो भने काम गरेको पैसाले ठूलै गर्जो टर्ने थियो,’’ सपनाले नेपालभ्यूजसँग भनिन्।
अघिल्लो प्रतिनिधि र प्रदेशसभा चुनावमा पनि पनि म्यादी प्रहरीमा भर्ना खुलेको थियो तर त्यति बेला उनले फाराम भर्न पाइनन्। आवेदन खुलेको समयमा आफू बिरामी परेको उनले बताइन्। “निको हुँदासम्म फाराम बुझाउने म्याद गुज्रिसकेको थियो”, उनले भनिन्, “म्यादी प्रहरीमा भर्ना हुने धोको अधुरै रह्यो।”

त्यति बेला म्यादीमा भर्ना हुन नपाए पनि भर्ना भएका अरूले लिएको तालिम देखेकी थिइन्। उनको कोठानजिक रहेको प्रहरी कार्यालयको ठूलो प्राङ्गणमा परेड खेलाइन्थ्यो। त्यो बेला म्यादी प्रहरीले परेड खेलेको दैनिक जसो हेरेको उनी बताउँछिन्। ‘‘परेड खेल्दै गरेका म्यादी प्रहरीहरू हेरिरहन्थेँ। उनीहरू खेल्दै कराउँदाको ठूलो आवाज र उनीहरूको शारीरिक हाउभाउ हेरिरन्हथेँ’’, सपनाले पाँच वर्षअघिको अनुभव सुनाइन्।

त्यही बेलै उनले अठोट गरेकी थिइन्, अर्को चुनावमा म पनि ‘म्यादी प्रहरी’मा भर्ना हुनुपर्ला। पाँच वर्षपछि अहिले चुनाव घोषणा भयो तर यस पटक सानी छोरी छिन्।

बच्चा काखमा भए पनि उनलाई म्यादीको बन्नबाट डोर्‍यायो– घर गुजाराको बाध्यताले। यसैले विलम्ब नगरी आवेदन फाराम भर्न पहिलो दिनै लाइन बस्न आइपुगिन्।

स्काउटको सेवादेखि म्यादी प्रहरीको जागिरसम्म

सपनाको स्कुल पढ्दादेखिकै सपना सेना वा प्रहरीमा भर्ना हुने । फौजीमा रुचि भएकाले स्कूले जीवनमा नेपाल स्काउटमा काम गरेको उनले बताइन्। स्काउटको तालिमका क्रममा शारीरिक र मानसिक व्यायामदेखि प्रतिरक्षात्मक सीपसमेत सिकिन् । त्यसबाट उनी सेना वा प्रहरी सेवाप्रति झन् आकर्षित भएकी थिइन्। उनले भनिन्, ‘‘मलाई त्यति बेलैदेखि अरूले झैँ सेना वा प्रहरीमा भर्ना भई देशको सेवा गर्छु भन्ने चाहना थियो।’’

प्लसटुसम्मको पढाइपछि उनले सेना / प्रहरीमा जागिर खान खोजिन् तर सकिनन् । पछि परिवारले बिहे गरिदिए।

बिहेपछि अनेक बन्धनमा परिन्। आफ्नै घरको दैनिक आवश्यकता पूरा गर्न आफूले केही कमाउनुपर्ने बाध्यता आइलाग्यो।सपनाले फाराम भरे पनि छनोटको अन्तिम नतिजामा आउनै बाँकी छ।

रोजगारीको अभाव कति छ भन्ने भयानक अवस्था हेर्न जिल्ला प्रहरी कार्यालय गए पुग्छ। त्यहाँ पहिलो दिनमै ठूलो भीड लागेको छ । आइतबारदेखि खुलेको म्यादी प्रहरीको ४० दिने रोजगारीको लागि फाराम वितरण भइरहेको छ, फाराम लिने र बुझाउनेको ताँती छ। त्यही भीडमा भेटिएकी एक जना पात्र हुन् सपना ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेपछि ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा भीड लागेको छ। भीडमा युवादेखि आमा बुबासम्मको लाइन छ।

४० दिने सेवा ३० हजार कमाइका लागि निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना आवेदन खुलेकै दिन आइतबार देशभर फारम भर्नेको ठूलो लाइन देखिएको छ। ‘बेरोजगारी भएर बस्नुभन्दा छोटो कामका लागि भए पनि भर्ना हुन आएको’ फाराम भर्न आएकाहरू अधिकांशको प्रतिक्रिया छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved