राष्ट्रियसभा निर्वाचनमा घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई एमालेले पार्टीबाट निकाल्यो

नेपाल भ्युज

राष्ट्रियसभा निर्वाचनमा घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई एमालेले पार्टीबाट निकाल्यो

बैतडी। नेकपा (एमाले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निकालेको छ। उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेले कारबाही गरेको उल्लेख छ।

१२ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख-उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिनका निर्देशन दिएको थियो।

‘पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ,’ जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।’

यस्तै, पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको जनाइएको छ। ३ फागुनमा बसेको जिल्ला कमिटीको बैठकले पनि लिखित स्पष्टीकरण सोध्दासमेत चन्दबाट बेवास्ता भएको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोक बहादुर भण्डारीले बताए।

तर चन्दले भने उपाध्यक्ष चन्दले पार्टी निर्णयको घोर भर्त्सना अन्याय भएको बताएकी छन्। बुधबार सामाजिक सञ्जालमा भिडिओमार्फत पार्टीको कार्यप्रति निन्दा गरेकी छन्। उक्त निर्णयले आफूलाई थप ऊर्जावान् बनाएको उनले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved