खप्तड गोल्डकप

बागमतीसँग पेनाल्टी सुट आउटमा पराजित एनआरटी बाहिरियो

नेपालभ्युज

बागमतीसँग पेनाल्टी सुट आउटमा पराजित एनआरटी बाहिरियो

धनगढी। धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटी बाहिरिएको छ। धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे उसका सुमन राई पेनाल्टीमा चुके।

एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे। तर, आन्द्रे थिएरी र सन्जिव विष्टले पेनाल्टीमा गोल गर्न सकेनन्। पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन। जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो।

खेलको ६८ औं मिनेटमा स्टेफेन समीरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। खेलको ७४ औं मिनेटमा स्टेफेनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २(० को अग्रता दिलाए।
तर, खेलको ८३ औं मिनेटमा विमल घिसिङले गोल गर्दै बागमतीलाई २-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८५ औं मिनेटमा विजय घलानले गोल गर्दै बागमतीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए। यस जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ। आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved