कर्णाली सरकारको चारमहीने विकासः ७ किलोमिटर सडक, ५० हजारलाई रोजगारी दिने लक्ष्य

प्रगति विवरण सार्वजजिक गर्दै मुख्यमन्त्री शाहीले चार महीनामा सात किलोमिटर सडक र ५१ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाइएको बताए। 

कर्णाली सरकारको चारमहीने विकासः ७ किलोमिटर सडक, ५० हजारलाई रोजगारी दिने लक्ष्य

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारको मन्त्रिमण्डलले चार महीनामा गरेको कामको उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्री शाही १६ कात्तिकमा नियुक्त भएका हुन्।

प्रगति विवरण सार्वजजिक गर्दै मुख्यमन्त्री शाहीले चार महीनामा सात किलोमिटर सडक र ५१ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाइएको बताए।

कोरोनाविरुद्ध ६१ प्रतिशतले खोप लगाए

कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण कामहरू भएका र हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसंख्याको पहिलो मात्रा ६१% र दोस्रो मात्रा पनि ६१% लगाएका छन् भने कर्णालीको कुल जनसंख्याको ५१% ले पहिलो मात्रा र ४८% नागरिकले दोस्रो मात्रा लगाएका छन्।

“१२ देखि १७ वर्ष उमेर समूहका सबैलक्षित समूहले कोभिडविरुद्ध खोप लगाइसकेका छन् भने कर्णालीमा ३२ हजारभन्दा धेरैले बुस्टर खोप लगाएका छन्,” उनले भने, “कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णालीले सबैभन्दा धेरै अक्सिजनको अभाव भोग्नुपर्‍यो। अब कर्णाली अक्सिजन आपूर्ति होइन्, निर्यात गर्ने अवस्थामा पुगेको छ।”

चार महीनामा झण्डै सात किलोमिटर सडक

मुख्यमन्त्री शाहीले पछिल्लो चार महीनामा कर्णालीमा ६.७ किलोमिटर सडक कालोपत्रे भएको छ भने १९४.५ किलोमिटर सडकको नयाँ ट्याक खोलिएका बताए। “२३.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। यस्तै २ वटा सडक पुल र १ वटा झोलुङ्गे पुलको निर्माण पनि यही अवधिमा भएका छन्।” उनले भने,”जनता आवास कार्यक्रममार्फत ७७८ घर निर्माण भएका छन्। अधिक वर्षा हुँदा सुर्खेत उपत्यकाको निकास खोला थुनिने र तल्लो तटीय क्षेत्रमा डुबान हुने समस्या रहँदै आएको छ।”

निकास खोला र सल्यानको शारदा नदी नियन्त्रणका लागि संघीय समपूरक योजनाअनर्गत प्रस्ताव गरिएको छ भने ‘एक स्थानीय तह एक विद्यालय’ भौतिक संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री शाहीले बताए।

ऊर्जा खानेपानी तथा सिँचाइतर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सर्शत अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १०५५ योजनाहरू कार्यान्वयन चरणमा रहेका मुख्यमन्त्री शाहीले बताए। “पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत १० वटा जिल्लामा ५५३ वटा कार्यक्रमहरू कार्यान्वयनमा छन्,” उनले भने, “कृषि तथा पर्यटनतर्फः हिमाली भेगका पाँच जिल्लाका न्यूनतम् ५० भन्दा बढी भेडापालन गर्ने कृषकहरूलाई औषधोपचार सहयोगका लागि किसानहरूको लगत संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।”

त्यस्तै, किसान सूचीकरणअन्तर्गत हालसम्म ७४ हजार ७ सय २४ परिवार किसान सूचीकरण प्रणालीमा आबद्ध भइसकेका जानकारी दिए। “कृषि तथा पशुपालन व्यवसायमा ब्याज अनुदान कार्यक्रमअन्तर्गत हालसम्म ८२० जना कृषकहरूलाई (बैंकमार्फत २०९ र सहकारीमार्फत ६११ जना) लाई ५८ करोड ४४ लाख लगानी भएको र ब्याज अनुदानबापत १ करोड ५१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ,” उनले भने, “सुर्खेतको दशरथपुरमा १५ करोडको लागतमा कोल्डस्टोरेज निर्माणको प्रक्रिया अघि बढेको छ।”

५० हजार बढीलाई रोजगारी दिने

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत कर्णाली प्रदेशका ७९ स्थानीय तहका ७१५ वडाका लागि १०५५ योजनाहरू कार्यान्वयनमा रहेको मुख्यमन्त्री शाहीले बताए। “कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ५० करोड बजेट सम्बन्धित स्थानीय तहमा पठाइएको छ,” उनले भने, “यो कार्यक्रम कार्यान्वयनबाट ५० हजार बढी नागरिकहरूले अल्पकालीन रोजगारी पाउनेछन्।”

कर्णाली उज्यालो कार्यक्रममार्फत ६३ वटा ग्रामीण लघुजलविद्युत् र सौर्य ऊर्जाका कार्यक्रमहरू कार्यान्वयनका लागि २५ करोड रुपैयाँ र प्रदेशका चार जिल्लाका १० वटा वस्तीहरूमा एकीकृत बस्ती विकास कार्यक्रमका लागि २५ करोड १० लाख बजेट सम्वन्धीत स्थानीय तहमा जानकारी मुख्यमन्त्री शाहीले बताए।

जलस्रोत तथा ऊर्जा विकास कार्यालयमार्फत हरेक जिल्लाका ८० देखि १०० घरधूरीमा विद्युतीय ऊर्जा पुर्‍याउने उद्देश्यले शुरु गर्न लागिएको ‘गाउँ बस्ती उज्यालो कार्यक्रम’ कार्यान्वयन गरिने उनको भनाइ थियो।

“दलित आयआर्जन प्रवर्द्धन कार्यक्रममार्फत दलितहरूको सीप विकासका लागि ४ करोड ६८ लाख, पूर्वाधार सामग्री सहायता कार्यक्रमका लागि ९ करोड १९ लाख, वित्तीय पहुँचका लागि १० करोड ५३ लाख र कार्यक्रम सञ्चालनका लागि ४ करोड ९२ लाख बजेट पठाइएको छ,” उनले भने, “सहकारी संस्थामार्फत वित्तीय पहुँचका लागि १० करोड ५३ लाख बजेट सम्बन्धित कार्यालयमा पठाइएको छ। मुख्यमन्त्री महिला आयआर्जन अन्तर्गत ७९ महिला सहकारी संस्थाका लागि ५४ करोड रुपैयाँ छुट्याइएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved