पार्टी छोड्लान् कि बार्गेनिङमा रोकिएलान् नारायणकाजी?

एमालेबाट छुट्टिएर बसेका वामदेव गौतम र श्रेष्ठले संयुक्त रुपमा नयाँ पार्टी गठन गर्ने चर्चा छ। बुधबार श्रेष्ठलाई भेट्न श्रेष्ठनिवास हात्तीवन पुगेका नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग पनि पार्टी एकताबारे छलफल भएको छ।

नेपालभ्युज

पार्टी छोड्लान् कि बार्गेनिङमा रोकिएलान् नारायणकाजी?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरूले २० फागुनदेखि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकपछि मात्रै पार्टी छाड्ने कि सँगै रहने भन्ने निर्णय लिने बताएका छन्। १५ फागुनमा प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएसँगै पार्टीभित्र श्रेष्ठ पक्षका नेताहरूले त्यसको विरोध जनाउँदै आएका छन्।

एमसीसीले यथास्थितिमा पारित गर्न नहुने विचार राख्दै आएको माओवादीले अन्तमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न सहयोग गरेको थियो। श्रेष्ठ पक्षधरका नेताहरूले व्याख्यात्मक घोषणा कार्यकर्तालाई झुक्याउनेबाहेक अरु केही नभएको बताउँदै आएका छन्। एमसीसी पारित गर्न पक्षमा मतदान गर्न पार्टीले ह्वीप नै जारी गरे पनि माओवादी केन्द्रका  केही सांसदहरूले त्यसको अवज्ञा गरेका थिए।

कृष्णबहादुर महरा, जयपुरी घर्ती, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी अमृता थापालगायतसांसदहरू संसद्मा मतदान चलिरहँदा बाहिर निस्किएका थिए। यस्तै संसद् भवनभित्रै बसेर पनि गिरिराजमणि पोखरेल र अञ्जना बिसंङखेले मतदान गरेका थिएनन्।

११–१८ पुसमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले एमसीसीको विपक्षमा रहने निर्णय गरे पनि पार्टी नेतृत्व महाधिवेशनको भावनाविपरीत गएको बताउँदै पार्टीका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। असन्तुष्टि व्यक्त गर्ने नेताहरूको नेतृत्व श्रेष्ठले गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्नुपर्नाको कारणका विषयमा पार्टीका नेता कार्यकतालाई स्पष्ट पार्न १६ फागुनमा पत्रकार सम्मेलन नै आयोजना गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले घुमाउरो भाषामा एमसीसीलाई संसद्बाट पारित गरेकै कारण पार्टी छोड्न कोही इच्छुक भए छोड्न सक्ने बताएका थिए। अध्यक्ष दाहालले श्रेष्ठलाई लक्षित गर्दै उक्त प्रतिक्रिया दिएको टिप्पणीहरू हुन थालेका छन्।

त्यसो त १७ फागुनमा श्रेष्ठलाई भेट्न अध्यक्ष दाहाल श्रेष्ठकै निवास हात्तीवन पुगेका थिए। संसद्बाट एमसीसी पारित भएपछि असन्तुष्ट बनेका श्रेष्ठ पक्षका नेताहरूले भर्चुअल बैठक नै गरेर पार्टी निर्णयविरुद्ध जाने तयारी गरेपछि अध्यक्ष दाहाल उनलाई भेट्न गएको बताइएको छ।

यसैबीच श्रेष्ठसँग एमसीसीको विरोध गर्दै आएका नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द (विप्लव)ले भेटवार्ता गरेका छन्। बुधबार बिहान श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका चन्दले श्रेष्ठसँग भेटवार्ता गरेका हुन्। दुई नेताबीचको भेटवार्ताले माओवादी केन्द्र छोड्ने चर्चा चलेका श्रेष्ठ र चन्दबीच पार्टी एकतासम्मकै कुराकानी भएको बताइएको छ।

यता श्रेष्ठ पक्षमा एक नेताले २० फागुनबाट आयोजना हुने पार्टीको केन्द्रीय समितिको बैठकअघि पार्टी विघटन नहुने बताएका छन्। केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालविरुद्ध अनुशासनको कारबाही गर्नेदेखि लिएर वैचारिक पतनको दिशामा अध्यक्ष दाहाल रहेको आरोप लगाउने तयारी गरेको उनले बताए।

“महाधिवेशनमा हामीले एमसीसीविरुद्ध जाने निर्णय गरेका थियौँ, त्यसपछि पार्टीको कुनै निकायको बैठक नबसेको अवस्थामा नेतृत्वले एकलैटी हिसाबमा एमसीसी पारित गर्ने निर्णय गर्‍यो,,” माओवादी केन्द्रका ती नेताले भने, “पार्टीको केन्द्रीय समितिको बैठकमा यी विषयमा प्रश्न उठ्छ। नेतृत्वले चित्तबुझ्दो जवाफ नदिएको अवस्थामा अन्तरसंर्घष हुन्छ त्यसले पार्टी विभाजनसम्म पुग्न सक्छौँ।”

एमालेबाट छुट्टिएर बसेका वामदेव गौतम र श्रेष्ठले संयुक्त रुपमा नयाँ पार्टी गठन गर्ने चर्चा छ। “मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णयपछि गएर पार्टी गठनसम्म पुग्ने सम्भावनालाई नकार्न सकिदैन,” श्रेष्ठ पक्षका नेता भन्छन, “एमसीसी विरोधी नयाँ शक्तिको निर्माणलाई अस्वीकार गर्न सकिँदैन।”

त्यसो त माओवादी केन्द्रको महाधिवेशन सकिए पनि पदाधिकारी चयन लगायतका विषय अझै टुंगिएको छैन। पार्टीको पदाधिकारी लगायत स्थायी समिति सदस्य र पोलिट ब्यूरो सदस्य केन्द्रीय समितिको बैठकले गर्ने निर्णय गरेको थियो। यसअघि पटक–पटक सरेको केन्द्रीय समितिको बैठक २० फागुनबाट हुँदैछ। बैठकमा श्रेष्ठ पक्षधरले पदाधिकारीमा ‘बार्गेनिङ’ गर्ने तयारी गरेको माओवादी केन्द्रका एक नेताको दाबी छ।

“एमसीसीका विषयमा विवाद झिकेर श्रेष्ठ पक्षले पदाधिकारीमा बार्गेनिङ गर्न लागेका हुन्,” अध्यक्ष निकट रहेका ती नेता भन्छन्, “महाधिवेशनकै समयमा पनि उहाँहरूले विवाद झिक्नु भएको थियो, पदाधिकारी चयन गर्ने समयमा अहिले पनि विवाद झिक्नुभएको हो।”

महाधिवेशनको समयमा आफ्नो पक्षका नेता गिरिराजमणि पोखरेलका विरुद्धमा अध्यक्ष दाहाल पक्षका नेता लागेको श्रेष्ठ पक्षका नेताको बुझाई रहेको छ। पोखरेललाई पार्टीका अर्का नेता सत्यनारायण मण्डलले आफ्नो समूहको धारणा सार्वजनिक गर्दा ‘अपराधी’ को संज्ञा दिएका थिए। केपी ओली सरकारमा शिक्षामन्त्री रहेका पोखरेलले शहीद रामवृक्ष यादवको शालिक भत्काएको आरोप लगाएका मण्डलको थियो। आफ्नो समूहका नेताको महाधिवेशनमा मानमर्दन गरेको श्रेष्ठ पक्षको आरोप थियो। यद्यपि, यो विवाद त्यतिबेला नै सुल्झिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved