माधव र प्रचण्डले एमसीसी पास गराउन देउवालाई बचन दिएका थिएः ओली

नेपालभ्युज

माधव र प्रचण्डले एमसीसी पास गराउन देउवालाई बचन दिएका थिएः ओली
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बचन दिएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले हिजो (शुक्रबार) बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने बचन दिएको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबीसमेत गरे।

तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाई थियो। अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्‍याए।

उनले गैरसांसदहरूलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरूले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान पनि दोहोर्‍याए।

अध्यक्ष ओलीले भने, “एमसीसीबारे हामीसँग काँग्रेसले कुरा गर्‍यो। काँग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाईको सातो गएछ–गठबन्धन टुट्छ भनेर। हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवा कहाँ गएर भन्नु भो–हामी एमसीसी पास गर्छांैं, गठबन्धन जोगाई दिनुस्। हामीलाई सडकमा नफालिदिनुस् प्रभु। भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौं। इमान्दार रहेछौ भने ठिक छ भनेर प्रधानमन्त्रीजीले पठाउनु भयो। गएको राति उहाँहरू आधाआधा सुत्नु भयो। निन्द्रा लागेन, अब के गर्ने ? नेकपा एमाले यसरी चल्दैन। नेकपा एमालेले राष्ट्रिय हित, जनता र देशको हित, देशको विकास, अन्तराष्ट्रिय सम्बन्धलगायतका तमाम कुराहरूलाई हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यो मात्रै गर्छ।”

अध्यक्ष ओलीले जनप्रतिनिधिहरूलाई एमसीसीबारे आवश्यक निर्णय लिन आफूले प्रधानमन्त्री हुँदा सो प्रस्ताव संसदमा पेश गरेको पनि स्पष्ट पारे। उनले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने दाबीसमेत गरे।

प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न नभई न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको अध्यक्ष ओलीले तर्क गरे।

उनले नेपाल बार, सर्वोच्च बारले आन्दोलन गरेर न्याय क्षेत्रको गरिमा नबढने बताए। अध्यक्ष ओलीले भने, “यो महाअभियोग के पारित गर्न लगाएको हो र ? पारित हुन्छ यो ? पारित गर्न ल्याइएकै होइन। यो त लम्ब्याउँदै-लम्ब्याउँदै हरेक कुरालाई लम्ब्याउने, मानि लिऊ–देशको समयको कुनै मूल्य छैन। यति तीब्र ढंगले विश्व अघि बढेको छ। हाम्रो देशको समयको कुनै मूल्य नै छैन। अलमल्याई दिउ, पछाडि धकेलिदिऊ, समय बर्बाद गरिदिऊ। हरेक कुरामा, हरेक क्षेत्रमा यस्तै भईराख्या छ। यसमा पनि त्यही भईराख्या छ। तपाईहरूलाई म भन्न चाहन्छु–चोलेन्द्रशमशेर विरुद्धको महाअभियोग कुनै पनि दिन निर्णयार्थ प्रस्तुत हुनेछैन, संसदमा हुँदैन। निर्णयार्थ संसदमा प्रस्तुत हुँदैहुँदैन। त्यो निर्णयार्थ प्रस्तुत गर्नका लागि ल्याएकै होईन। न्यायिक क्षेत्रलाई अस्तव्यस्त पार्न श्रीमान् न्यायाधीशहरू हडतालको मैदानमा उत्रिनु, नेपाल बार हडतालको मैदानमा होईन, आन्दोलनको मैदानमा उत्रिनु, सर्वोच्च बार। मैले भनेको छु–हामी बारतिर त कम्फु, कराँते देख्छौं। अव वकील साहेवहरूको काम कम्फु, कराँते हो भने त मलाई थाहा भएन। तर मलाई लाग्छ– यो तरिकाले न्यायालयको गरिमा, न्याय क्षेत्रको गरिमा किञ्चित बढाउँदैन। म सबैलाई सजग गराउन चाहन्छु।”

ओलीले न्यायालय सत्तारुढ दलको सेटिङमा चलेको तर आफ्नो दलले सेटिङ गरेको भनेर झुट प्रचार भइरहेको गुनासोसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved