प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

एमसीसी पास गराउन प्रधानमन्त्रीदेखि कांग्रेस नेताको दौडधुप

लामो रस्साकस्सीपछि सरकारले यो सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सक्रियता बढाएको छ।

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज बिहीबार छलफल शुरु हुने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुने भएको हो।
संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ। सो बारेका आजबाट छलफल अघि बढ्ने भएको हो। बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

लामो रस्साकस्सीपछि सरकारले यो सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सक्रियता बढाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र बाहिरका दललाई फकाउन थालेका छन्। यदि सत्ता गठबन्धनमा कुरा नमिलेमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँगको संवादलाई समेत तीव्रता दिइएको छ।

यसबीचमा प्रधानमन्त्री देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवासमै पुगेर एमसीसी पारित गर्न आग्रह गरे। बुधबारनै गृहमन्त्री बालकृष्ण खाँणले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमसीसीमा साथ दिन आग्रह गरे। अघिल्लो दिन देउवाले ओलीसँग छलफल गरेका थिए।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन एकीकृत समाजवादी पार्टीका मन्त्री र सांसदहरूसँग समेत छुट्टाछुट्टै छलफल थालेका छन्। एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र पनि दुई धार देखिएको छ। सत्तारूढ जनता समाजवादीले भने एमसीसीकै पक्षमा मतदान गर्ने तयारी गरेको छ।

जसपाले पनि एमसीसीको विषयलाई विरोध जनाएको छैन।

यसैगरी आजको संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८’ पेस गर्ने कार्यसूची राखिएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved