ख्वप अस्पतालमा अन्तरङ्ग सेवा शुरू

नेपालभ्युज

ख्वप अस्पतालमा अन्तरङ्ग सेवा शुरू

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अन्तरङ्ग सेवा शुरू भएको छ। अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको एचडीयु सहित आज आइतबारबाट बिरामी भर्ना समेत शुरू गरेको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल लगायतले आइतबार अस्पतालको निरीक्षण गरेका हुन्।

अस्पताल निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले ख्वप अस्पतालले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिई सहज र छिटो सेवा दिन व्यवस्थापक र प्रशासकलाई निर्देशन दिए। उनले भने, “अस्पतालका चिकित्सक र अन्य जनशक्तिले अस्पताल भर्ना भएका विरामीसँग शिष्ट व्यवहार गरे छिटो निको हुनुका साथै गुनासो समेत कम हुन्छ। अस्पतालको व्यवस्थापनले यसमा ध्यान दिनुपर्छ।”

प्रतिनिधि सभा सदस्य प्रेम सुुवालले अस्पतालमा आवश्यक अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सुझाव दिए। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरबासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै अस्पताललाई १०० शैय्याको बनाउने तयारी गरिरहेको र ख्वप अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको बताए। अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको एचडीयु सहित आजबाट बिरामी भर्ना समेत शुरू गरेको छ।

हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। ख्वप अस्पतालले आ‍‍‍.व. २०७७/७८ मा ४० जिल्लाका १ लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ भने २०७८/७९ को ६ महिनामा ८३ हजार २३५ जनालाई उपचार सेवा प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved