सिलादीका दलित सुकुम्बासीलाई लालपूर्जा

“लालपूर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो। तर अहिले हातमा पूर्जा नै आयो।” जुठेले भने, “लालपूर्जाले मुहारमा खुशी छाएको छ।”

नेपालभ्युज

सिलादीका दलित सुकुम्बासीलाई लालपूर्जा

तम्घास। गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपूर्जा पाएका छन्। सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि उनीहरु सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए।

सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए। सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो।

गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो। उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए।

सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताए। घर चुहिने थियो। उनी पिउने पानी र बिजुलीबाट पनि वञ्चित थिए। लालपूर्जाको आशमा थुप्रै पटक नेताको आश्वासन मात्र पाए। तर अहिले गाउँपालिकाले लालपूर्जा नै वितरण गरेको छ।

“लालपूर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो। तर अहिले हातमा पूर्जा नै आयो।” जुठेले भने, “लालपूर्जाले मुहारमा खुशी छाएको छ।”

सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपूर्जा पाएपछि संसार जितेजस्तै महसुस भएको प्रतिक्रिया दिए। उनले भने, “गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुशी छौँ।”

गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदका लागि ५० हजार रुपैयाँ उपलब्ध गराएको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए। घरका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए।

गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यवस्थापनको योजना अगाडि बढाएको छ। अब एकीकृत बस्ती निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved