हिजाब विवाद: कंगनाको चुनौतीपछि शबनाको काउन्टर प्रश्न, जावेद पनि बोले

हिजाब पहिरिएकी युवतीमाथि भएको आक्रमणको कलाकारहरू ऋचा चड्डा, स्वरा भास्कर, ओनिर र कमल हसनले विरोध गरेका छन् भने हेमा मालिनी, मनिष मुन्द्र र अशोक पण्डित लगायतका कलाकारले हिजाबमा प्रतवन्ध लगाउनुपर्ने धारणा राखेका छन्।

नेपालभ्युज

हिजाब विवाद: कंगनाको चुनौतीपछि शबनाको काउन्टर प्रश्न, जावेद पनि बोले

एजेन्सी। भारतको कर्नाटक प्रान्त अहिले अशान्त छ। मुस्लिम धर्मका अनुयायी महिलाले शैक्षिक संस्थामा हिजाब लगाउन पाउने, नपाउने विषयको विवाद सडकमा धार्मिक विवादको रूपमा पोखिएको छ।

कलेज युवतीहरूले हिजाब लगाउने विषयले लिएको उक्त विवादले अहिले‍ राजनीतिसँगै चलचित्र जगतमा पनि बहस चर्किएको छ।

यसबारे धेरै चलचित्रकर्मीले आफ्नो धारणा राखेका छन्। जसमध्ये कंगना रनावट र शबना आजमी यी दुई अभिनेत्रीबीचको सवाल जवाफ चर्चामा छन्।

आफ्नो विवादित बयानका कारण प्राय: चर्चामा रहने अभिनेत्री कंगनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘‘यदि तपाईं हिम्मत नै देखाउनुहुन्छ भने अफगानिस्तानमा बुर्का नलगाएर देखाउनुहोस्। स्वतन्त्र हुन सिक्नुहोस्, खोरमा थुनिन होइन।”

कंगनाले ट्वीटरमा लेखिएको पोस्ट अभिनेत्री शबाना आजमीले आफ्नो ट्विटर अकाउन्टमा शेयर गर्दै प्रश्न सोधेकी छिन्।

उनले लेखे, ‘‘यदि म गलत छु भने मलाई सच्याउनुहोस्, तर अफगानिस्तान एक धार्मिक राष्ट्र हो, र मैले पछिल्लोपटक चेक गर्दा भारत धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र थियो।”

यसअघि शबाना आजमीका पति, कवि तथा गीतकार जावेद अख्तरले पनि हिजाबको विषयमा ट्विटरमा टिप्पणी गरेका थिए। जावेद अख्तरले लेखेका थिए, ‘‘म कहिल्यै हिजाब वा बुर्काको समर्थनमा छैन। म अझै पनि यही कुरामा विश्वास गर्छु, तर साथसाथै मलाई केही केटीहरूलाई उत्पीडन गर्ने गुण्डाहरूप्रति घृणा पनि छ र उनीहरू अनावश्यक पनि छन्। के यो उनीहरूको पितृसत्तात्मक चिन्तन हो? दया आउँछ।”

हिजाब लगाएकी युवतीको भाइरल भिडियो शेयर गर्दै अभिनेत्री ऋचा चड्डाले कमेन्ट पनि गरेकी छिन्।

उनले लेखिन्, ‘‘आफ्ना बच्चाहरूको राम्रो हेरचाह गर्नुहोस्! कुरूप, कायरहरू झुण्डिएर एकल केटीलाई आक्रमण गर्छन् र उनीहरू त्यसो गर्नमा गर्व गर्छन् ? निकम्माहरू! लाजमर्दो! अबका केही वर्षमा उनीहरूसँग केही काम हुनेछैन, न त पैसा नै र योभन्दा बढी उनीहरू हतास हुनेछन्। निकै खत्तम लालनपालनमा  हुर्केकाहरू, मलाई उनीहरूप्रति  कुनै सहानुभूति छैन। म ती जस्तालाई थुक्छु।”

विवादित विषयमा खुलेर आफ्नो धारणा राख्ने अभिनेत्री स्वरा भास्करले पनि हिजाबको विषयमा टिप्पणी गरेकी छिन्। स्वराले ट्विटमा लेखेकी छिन्, ‘‘ब्वाँसहरू!” अर्को ट्वीटमा उनले लेखेका छन्, ‘‘लज्जाजनक अवस्था।”

फिल्म निर्देशक ओनिरले एक भिडियो शेयर गर्दै हिजाबको विषयमा टिप्पणी गरेका छन्।

‍ओनिरले ट्विटमा लेखेका छन्, ‘‘विश्वासै लाग्दैन यी यो देशलाई लाजमर्दा राजनीतिज्ञहरूले के गरिरहेका छन्। हाम्रो एकतालाई व्यवस्थित रूपमा भत्काइँदैछ। हामी भित्रैबाट कमजोर हुँदैछौं। बाह्य शत्रु नै किन चाहियो र जबकि यिनीहरूले शत्रुकै काम गरिरहेका छन्। लज्जाको कुरा हो… बाँदरको झुण्डले कलेजका छात्राहरूलाई हैरान गरिरहेका छन्।”

दक्षिण भारतको राजनीतिमा सक्रिय अभिनेता कमल हसनले पनि कर्नाटकको हिजाब विवादमा आफ्नो धारणा राखेका छन्।

कमल हसनले ट्वीट गर्दै लेखेका छन्, ‘‘कारेकर्नाटकमा जे भइरहेको छ, त्यसले अशान्ति निम्त्याइरहेको छ। यो निर्दोष विद्यार्थीहरूका बीचमा धर्मको विषाक्तता हो। छिमेकी राज्य तमिलनाडुमा जे भइरहेको छ, त्यो तमिलनाडुमा हुनु हुँदैन। समय आएको छ। प्रगतिशील शक्तिहरू थप सावधान हुने बेला आएको छ।”

शैक्षिक संस्थामा हिजाब लगाउने अधिकारको मागसँग चलचित्र जगतसँग जोडिएका केही सेलिब्रेटीहरू सहमत छैनन्।

अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीले हिजाबको मुद्दामा पत्रकारसँग भनेकी थिइन्, ‘‘विद्यालय पढाइको लागि हो, त्यहाँ धार्मिक मुद्दा उठाइनु हुँदैन। हरेक विद्यालयमा पोशाक छ र त्यसलाई सम्मान गर्नुपर्छ। तिमीले चाहेको लुगा स्कूलबाहिर लगाउन सक्नुहुन्छ।”

‘मसान’ र ‘‘आँखों देखी’ जस्ता फिल्मका निर्माता मनिष मुन्द्राले लेखेका छन्, ‘‘हिजाबमाथि प्रतिबन्ध लगाउनुपर्छ। यो प्रतिगामी कुरा हो।”

सामाजिक सञ्जालमा विवादास्पद विषयमा टिप्पणी गर्ने प्रख्यात फिल्म निर्माता अशोक पण्डितले यसबारे विभिन्न ट्विट गरेका छन्।

अशोक पण्डितले ट्वीटमा लेखेका छन्, ‘‘जसलाई आफ्नो मस्जिद जाने अधिकार छैन! उनीहरूलाई हिजाब लगाएर विद्यालय जाने अधिकार चाहिएको छ!”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved