प्रिय कथा

घाम घामजस्तो छैन

सुन्नुहोस्

ऊ सुखवीर नामले चिनिन्थ्यो। उसको घर पचहत्तर जिल्लामध्ये जहाँ पनि हुन सक्थ्यो तर उसको गाउँलाई सुखीपुर भनिन्थ्यो। अचेल हुँदो सुखीपुरबाट निर्वासित भएर सुखको खोजीमा यो शहरमा शरणागत भएथ्यो।

घाम घामजस्तो छैन

रचनागर्भ

‘घाम घाम जस्तो छैन’ कथा २०४७ सालमा लेखियो र तत्कालै ‘समष्टि’ (कृषि विकास बैंकबाट प्रकाशित हुने साहित्यिक पत्रिका)मा प्रकाशित पनि भयो।

तिनताका भएको जनआन्दोलनको परिणामस्वरूप मुलुकमा भर्खर–भर्खर प्रजातन्त्र बहाल भएको अवस्था थियो। ३० वर्षदेखि खाइखेली गरिआएको पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। तिनताका जनमानसमा पञ्चायतका तुलनामा प्रजातन्त्र राम्रो व्यवस्था हो, जनकल्याणकारी व्यवस्था हो, राजनीतिक स्वतन्त्रता लगायतका स्वतन्त्रताहरू पनि उपभोग गर्न पाइन्छ भन्ने धारणा थियो। तिनताका राजनीतिक दलहरूले बाँडेको चेतना पनि त्यस्तै थियो। तर व्यवहारमा भइदियो के भने राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक परिवर्तनहरू भएनन्। हिजोका प्रतिगामी शक्तिहरू लुगा फेरेर भोलिपल्टैदेखि प्रजातान्त्रिक शक्तिमा रूपान्तरित भए अनि फेरि पनि जनपक्षीय शक्तिहरू ताडनामा परे। महँगी, बेरोजगारी, बेथिति पहिलेझैँ बढ्न थाल्यो। राज्यको स्रोतसाधन, सेवासुविधा सीमित वर्गको पेवा बन्यो, भुइँमान्छेहरूको अवस्था झन्झन् खस्कँदै गयो। र, तात्तातो अवस्थामै नयाँ परिवर्तनप्रति आम मानिसहरूमा उदासीनता बढ्यो। ठ्याक्कै अहिलेकै जस्तो। वास्तवमा भुइँमान्छेको अवस्थामा सुधार आउन भुइँमान्छेकै प्रतिनिधिको सत्तामा प्रतिनिधित्व हुनुपर्दछ। तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता व्यवस्थाले त्यसो हुन नदिँदो रहेछ। यस्ता व्यवस्थामा भुइँमान्छेको नाममा कौसीमा बसेकाको रजगज चल्दो रहेछ। यस कथाले यही तथ्यलाई सम्प्रेषण गर्ने प्रयास गरेको छ।

यो कथा तिनताका पाठक र समीक्षकहरूले निकै रुचाउनु भयो र यसलाई २०५८ मा यही नामको कथासंग्रहमा संगृहित गरियो। पछि फेरि २०६७ मा प्रकाशित ‘इस्मालीका प्रतिनिधि कथाहरू’ मा पनि यसले ठाउँ पायो।

………………………………………………………………………………………………………………………………………………

उसको आङमा लाउनेजस्तो कुनै लुगा त थिएन नै, हिजो बेलुकीदेखि पेटमा चारो पनि परेको थिएन। निरपेक्ष गरिबीको रेखामुनिका औसत नेपालीमध्ये ऊ जो पनि हुन सक्थ्यो– किस्ने, चन्द्रे, धने, बखते आदि। तर ऊ सुखवीर नामले चिनिन्थ्यो। उसको घर पचहत्तर जिल्लामध्ये जहाँ पनि हुन सक्थ्यो तर उसको गाउँलाई सुखीपुर भनिन्थ्यो। अचेल हुँदो सुखीपुरबाट निर्वासित भएर सुखको खोजीमा यो शहरमा शरणागत भएथ्यो।

सूर्य हेर्न नहुने पहिलो पालो रजस्वला भएकी ब्राह्मणकनयाझैँ छिँडीको कोठाबाट जाडाले स्यूस्यू गर्दै बिहानै लुसुक्क निस्केको ऊ गतिलो काम र रापिलो घाम खोज्दै नयाँ टोलको चोकमा आइपुगेको थियो। यहाँसम्म आइपुगुन्जेल न त कुनै काम नै भेटिएथ्यो न त न्यानो घाम नै। समयमा हिसाबले घाम त झुल्किसक्नुपर्थ्यो तर घाम आकाशमै कतै अल्झेजस्तो थियो। तुवाँलोको पर्दा फैलिँदै थियो।

चोकमा सुखवीरजस्ता अरू पनि थिए। चियापसलको पूर्वतिरको पेटीमा स्यूस्यू गर्दै एकान्तर काखीमुनि हत्केला घुसारेर मुखबाट धुवाँ र बाफ निकाल्दै उनीहरू काम र घाम पर्खिरहेका थिए। सुखवीर भनिने ऊ पनि त्यही हूलमा मिसिने सुरले सरासरी त्यतै गयो र चुरोट तानिरहेको धनजितेको अगाडि उभिँदै भन्यो, “ले ले, दुई सर्को म’नि तानौं, साह्रै जाडो भो।”

“पख न, आफूले त बल्ल पाएको।” आफ्नो हातको चुरोटतिर हेर्दै धनजितेले लामो सर्को तान्यो।

उसले आशामुखी नजरले आधा सल्किरहेको चुरोटतिर हेरिरह्यो। चोर औंला र माझी औंलाको कापमा चेपेको चुरोटलाई मुठी कसी खलाती चलाएझैँ फुक्दै धनजितेले फेरि एउटा लामो सर्को तान्यो। यसो गर्दा ठुटो झन् सानो भएकोले सुखवीरको मुख अँध्यारो भयो। त्यसपछि फु..गर्दै धुवाँको लामो सर्को छोड्दै चौथाइ मात्र बाँकी रहेको चुरोट सुखवीरेलाई दिँदै व्यंग्यात्मक स्वरमा सोध्यो, “ढुंगा बोक्छस् ?”

“काँ लानपर्ने हो ?” धनजितेको व्यंग्य ठम्याउन नसकेको उसले ठुटो चुरोटको पहिलो सर्को तानेर अर्को सर्को तान्न चुरोटतिर हेर्दै प्रतिप्रश्न गर्‍यो।

“ऊ त्यो टायलको छानो भएको घरको आडमा रे”, तीन तले घरतर्फ चोर औंलाले औंल्याउँदै ठट्यौलो स्वरमा धनजितेले भन्यो।

पातलो तुवाँलोको बादलभित्र अस्पष्ट देखिने टायलको छानो भएको घरले उसको मनलाई बायुपंखी घोडा चढाएर उसको घरगाउँमा लगेर ओरालिदियो।

सुखीपुर मुलुकका अन्य गाउँहरूझैँ एउटा औसत गाउँ– अढाई तीन हजारको जनसंख्या, छसात सय घरधुरी, चार जात छत्तीस वर्णको फूलबारी अनि फूलबारीका मालिक थिए पितनाथ। गाउँको माझमा टायलको छानो भएको चिटिक्क परेको तीनतले घर थियो पितनाथको। पितनाथ आफूलाई गाउँभरिको पिता ठान्दथ्यो। ऊ अलौकिक प्राणी थियो। खुस परेको बखतमा गाउँका तन्नेरी ठिटामिटालाई गल्लावालको जिम्मा लगाई मुग्लान पठाउँथ्यो, फक्रिन लाग्या कोपिलासमान छोरीबुहारीलाई मुम्बईको कोठीमा सजाउन पठाउँथ्यो र गाउँमा एकमना रजाइँ गर्न खोज्थ्यो, तर गाउँका

लालबहादुरहरूलाई यो कुरा मन पर्दैनथ्यो र लालबहादुर घर्ती कुर्लन्थ्यो अनि ऊ अर्थात् पितनाथ झोक्किन्थ्यो। रिस उठ्दा त उसले दुर्वासा बिर्साउँथ्यो। गाउँ पञ्चायतका सचिव, स्कुलका मास्टरदेखि जिल्लाका हाकिमसम्म उसैको भनसुन चल्थ्यो। उसका कुरा नखानेलाई त उसले बस्न खान दिँदैनथ्यो। गाउँको गरिब घर्ती केटो लालबहादुर दुःखजिलो गरेर शहरमा पढेर पास भएर गाउँको स्कुलमा पढाउन थालिरहेथ्यो। गाउँभाँडा मास्टर भनेर स्कुलबाट निकाली छाड्यो। मामाघर पनि देखायो रे। बिचरा, लालबहादुर। गाउँका गरिब दुःखी भनेपछि मरिमेट्छन्। पहिला–पहिला त नीलकान्तलाई पनि कम्ती खेदो गरेन पितनाथले तर अचेल त पितनाथ आफै फाली फुस्क्या हलोजस्तो भा’छ।

ठुटो चुरोटले औंला पोल्न थालेपछि झल्याँस्स भएर मनलाई वर्तमानमा फिर्ता डोर्‍यायो र एउटा लामो सर्को तान्दै टायलको छानाबाट आँखा ओरालेर धनजितेको अनुहारमा डुलाउँदै सोध्यो, “कति दिन्छन् रे ?”

“बोकिदे न, मिलाएर दिन्छन् दुई सयसम्म।” धनजितेको बोलीमा उपहास थियो।

“के ठट्टा गर्छस् ? काम नपाएको भनेर हेप्या होस् कि कसो ?” औंलो पोल्न थालेको ठुटो चुरोट मिल्काउँदै रिसाएको मुद्रामा बोल्यो ऊ।

“भनेको कुरा गर्दिया हुँ। अहिले आउला नि खोज्दै।” धनजितेले सहज स्वरमा भन्यो।

“काल्ले बोक्छा दुई सायमा ? आउनाजाना आधा घान्टा लाग्छा।” रामेछाप गुन्सी भदौरेको माहिला तामाङ गम्क्यो।

घाम झुल्केको थिएन। तुवाँलो झन् बाँक्लिदै थियो। त्यसैले स्यूस्यू पनि बढेको थियो। होटलभित्रको ‘सुरूप–सुरूप’ ले ऊभित्र पनि चियाको तलतल जगाइदियो।

“ए बखते। चिया ख्वाउँदैनस् ?” अस्ति सँगै इँट ओसारेको साथीको नाताले उसले बखतबहादुरलार्य अनुरोध गर्‍यो।

‘‘आफैँ त खलाँस छु हेर उधारो पत्याउँदैन। चिया खान त मलाई नि मन लाग्या थियो।’’ बखतबहादुर टकटकियो।

उधारो उसलाई पनि पत्याउँदैन। नगद बगलीमा छैन। ‘‘साँच्ची उसको लुगामा त बगली नै छैन नि।’’ ऊ झस्क्यो।

‘‘लौ सुन्नुस् आजको ताजा खबर। बेरोजगारी र महँगीको मारले परिवारको सामुहिक हत्या, नक्कलीको विषको कारणबाट असफल।’’ हातमा पत्रिका हल्लाउँदै हकर भीडनजिक आई कराउन थाल्यो।

सुनेर कोही गलल्ल हाँसे। कोही ‘‘च्व च्व, कठै बिचराहरू…।’’ भन्दै सहानुभूति प्रकट गर्न थाले। कोही पत्रिकामा चर्न थाले।

‘‘कहिलेकाहीं त नक्कली कुरो पनि राम्रै हुने रहेछ।’’

‘‘बिचराहरू कमजोर मनका रहेछन्, हरेस खाएछन्।’’

‘‘तिनका लागि जिन्दगी त झन् बोझ पो भयो।’’

‘‘तै जनताको सरकारले तिनका लागि केही बन्दोबस्त पो गरिदिन्छ कि ?’’

“जनताको सरकारले जनताका लागि गर्छ ऐरेगैरेलाई हेरेर के साध्ये ?” अहिलेको पालो सत्ताको अबीर दलेको क्याम्पस पढ्ने विद्यार्थी बुरुक्क उफ्रियो।

‘गरिगो’ नि जनताका लागि। जनताको भागमा महँगी, बेरोजगारी, असुरक्षा, अशान्तिबाहेक अर्थोक छैन। निसाफ माग्ने सुकुमबासीदेखि कर्मचारीसम्म सत्ताको गोलीका शिकार हुँदैछन्…।’

“भुट्छ त प्रतिगामीलाई।” विद्यार्थी पाखुरा सुर्किँदै उभियो। होटलभित्रबाहिर जम्मा भएको भीडमा यस्तै टीकाटिप्पणी भइरहेथ्यो।

“उ… हाम्रो नाइके पनि आयो।” बखतेको बोलीले उनीहरू सबैको ध्यान नाइकेतिर पुर्‍यायो। सबैले लगभग एकैसाथ नाइकेतिर हेरे।

देब्रे हात खासाबाट आयातित ज्याकेटको बगलीमा घुसाएर अर्को हातमा रहेको फेटावाल चुरोटको धुवाँ फुसफुस उडाउँदै पञ्चमीको पाइला सार्दै नाइके नरहरि त्यतै आउँदै थियो। नाइके आइपुग्नासाथ उनीहरू लगभग घेराउ शैलीमा उसका वरिपरि अदवसाथ उभिएर कुनै आदेश अह्रोटको प्रतीक्षामा ट्‌वाट्‌वाल्ती उसको अनुहारमा टोलाउन थाले।

कुल्ली नाइके अर्थात् ज्यामीहरूको ठेकेदार भनी चिनिने ऊ जसलाई उसकै कुल्लीहरू खुशी पार्नुपर्दा प्रायशः साहुजी र ठेकेदार सा’प पनि भन्ने गर्दथे, उनीहरू कसैलाई वास्तै नगरी निर्विकार भावले सामुन्नेको क्षितिजतिर हेर्दै फुसफुसती चुरोटको धुवाँ उडाइरह्यो। नाइकेको यो व्यवहारले उनीहरूका मानसपटलमा निराशाको बादल मडारिन थाल्यो।

“मुइले त तीन दिन भो काम नपा’को।” माहिला तामाङले गुनासो पोख्यो।

“लौ है साहु। मलाई त हिजो पनि काम मिलाएन, आज त मिलाउनुपर्छ है।” धादिङ चरंगेको कान्छा सुनुवारले जिरह लियो।

“ठेकेदार सा’प। मेरो त हिजोदेखि दानापानी नै बन्द छ।” सुखवीर पनि चुकेन।

“मलाई नि मिलाइदिनुस् है साहु। फेरि पछि तैँले त भन्याथिनस् भन्नु होला।” बखतेले कपाल कन्यायो।

“मलाई पनि है।” समवेत स्वर गुन्ज्यो।

ज्यामीहरूको यस्तो करकरबाट ऊ अभ्यस्त भइसकेथ्यो, त्यसैले उसको भावभंगीमामा खासै परिवर्तन भएन।

“खै, कामै छैन ठिटा हो। के गर्छौ ? भएसम्म त सबैलाई मिलाऊँ, कोही खाली हात नबसून् भन्या’ त हो। त्यसो हुँदा मलाई पनि फाइदा, तिमीहरूलाई पनि काम। तर खै, आफूले चिताएजस्तो काँ हुँदो रै’छ र।” नाइकेले सबै कुल्लीहरूतिर सर्सर्ती हेर्दै गम्भीर स्वरमा अभिभावकको पाराले चिन्ता जाहेर गर्‍यो।

अहिलेसम्म कामको आशा सँगालेर नाइकेको मुख ताक्दै गरेका उनीहरूको अनुहार औंसीको कालिमाझैँ अँध्यारियो। निराश मनले निस्तब्ध उनीहरू परस्पर एकअर्कालाई हेर्न थाले। उनीहरूबीच हठात् उब्जेको निस्तब्धतालाई पसलभित्रको सर्‍याकसुरुकले बिथोलिरहेथ्यो।

“ल, ढुंगा खसार’छन् याँ कस्को हो ?”, निस्तब्धता नाइकेले नै तोड्यो, “पाइहाल्यौ नि काम। सबै मिलेर लिएर भैगो नि।”

“कुरै मिल्दैन, साह्रै चुइँयाँ रहेछ।”, धनजितेले भन्यो।

“मिलाएर गरे भैगो नि। तिमीहरू पनि कस्नै खोज्छौ।” नाइके अर्ति दिने शैलीमा बोल्यो।

प्रत्युत्तरमा उनीहरू कोही केही बोलेनन्।

“हेर ठिटा हो। काम पाउन बहुत गाह्रो छ। समयकाल पैलाको जस्तो रहेन। हाकिमको जागिर खानुपर्ने मान्छे– खरदार सुब्बा पाए हाईहाई, खरदार खानेपर्ने मान्छेले बहिदार मुखिया नपाई। काम थोरै मान्छे धेरै भए। पोहोरपरार यो बेलामा कामको कत्रो चापाचाप हुन्थ्यो। ज्यामी नपाएर मान्छे पुर्पुरोमा हात राख्थे, तर यसपालि हेर न। यैं चोक कुरेको कति दिन भो तिमीहरूले ?” तेस्रो विश्वको विकासोन्मुख मुलुकको गतिरुद्धतामा विश्व बैंकले दिएको वर्णनात्मक निदानझैँ नाइके नरहरिले विषयव्याख्यान छाँट्यो र स्पष्टीकरण यसरी दियो, “महँगी र मन्दीले धेरै मान्छेहरू खलाँस भएका छन्। यस्तो सानो शहर, आवादी नै के पो छ र। अचेलत दुई नम्बरियाहरू मात्र चल्तीमा छन्।”

“खै, आज नि काम पाउने छाँट छैन ठेकेदार सा’प। अलिकति खर्च मिलाइदिनुपर्‍यो।” सुखीपुरको सुखवीरले अनुरोध गर्‍यो।

“खर्च त बेलाबखतमा दिइराखेकै पनि हुँ, नदिएको भए भन तिमीहरू नै। भए त अहिले पनि दिन्थेँ तर के गर्नु ? मेरो अप्ठ्यारो थाहा छँदैछ तिमीहरूलाई। अचेल म आफैँ खलाँस भएको छु। पैसा भएदेखि नदिने हुइनँ, तिमीहरूसँग हुन मसँग भएबराबर हो, तर के गर्छौ, देखिहाल्यौं थिति…।” नाइके नरहरिको यो चिप्लोचिप्लो बोलीमा सुखवीर धरमरियो।

सुखवीरलाई किनकिन यो नाइकेले सुखीपुरको नीलकान्तको सम्झना गराउँछ। अनुहार, रूपरङ कतै केही मिलेजस्तो त लाग्दैन तर बोलीको लोली भने उसलाई उस्तैउस्तै लाग्छ।

“तिमीहरूलाई देख्दा त एकाघरको भाइहरू भेटेजस्तो औधी खुशी लाग्छ। अँ…, साँच्ची सुखवीर, गणेश साहुको मिलबाट एक बोरा चामल लगिदेऊ न मेरो घरमा। आफ्नो भाइजस्ता तिमीहरू हुँदाहुँदै पनि किन अरूलाई खुसामद गरिरहूँ…। भाइ भए भरोसा भन्ने उखानै छ नि।’ नाइके नरहरिले उनीहरूसँग बेकारीमा काम लिनुपर्दा यसरी फुरुङ्ग पार्ने गर्दछ। चिनीको चास्नी घोलेजस्तो लवजले दुखेको ठाउँमा सुमसुम्याएजस्तो लाग्छ तर कतिखेर हो चालै नपाइकन डसिसक्छ। ‘सुखवीर, लाउनखान नपरे त तिमीलाई जिन्दगीभरि नै पाल्थेँ।” एक साँझ फोस्रा गफ सुनाएका भरमा नीलकान्तले एक भारी दाउरा चिराएथे र हिँड्ने बेलामा भनेथे, “यसो कहिलेकाहीं आउने गर न, गफसफ गरौंला। अँ, लालेले उचाल्ला, होस गर्नू है।” नाइकेले चिप्ल्याइदियो चिप्लोमा पछारिएर ऊ सुखीपुरको विगत र वर्तमान सुम्सुम्याउँछ– त्यै बेलादेखि ऊ नीलकान्तसँग तर्कीतर्की हिँड्न थालेथ्यो।

नीलकान्त उसलाई सुम्सुम्याउन खोज्थ्यो, ऊ तर्सेर भाग्थ्यो। यो भागदौड चल्दाचल्दै मुलुकमा प्रजातन्त्ररूपी घाम झुल्क्यो। अब भने ढुक्क भयो भन्ने ठानेथ्यो सुखवीरले। अब त मनले खाएको जनप्रतिनिधि चुन्न पनि पाइने भो। रेडियो नि गीत गायो– “प्रजातन्त्र आयो अब निडर हुनुहोस्, आफ्नो मनले खा’कोलाई भोट दिनुहोस्…।” तर नीलकान्तले यसो भनेथे, “हेर सुखवीरे। गाउँमा बस्न मन भए हामीलाई नबिर्सेस, हैन…गाउँ, समाज, इष्टमित्र चाहिँदैन भन्छस् भने आफ्नो मनलागी छाप हालेस्। अब त प्रजातन्त्र आ’छ, नयाँ घाम झुल्क्या छ, पहिलाको जस्तो छैन अब।”

पितनाथलाई बिर्साउने रैछस् तैंले त, त्यसै खेद्या थियो पितनाथले तँलाई’ मनमनै सोचेथ्यो उसले, तर प्रकट रूपमा ऊ यसरी बोलेथ्यो, “हजुरहरूको मर्जीबेगर किन चल्थेँ र हजुर ?” तर जित पक्का भएको भोट गन्ती नटुंगिदै नीलकान्त सौँफीको सुरमा कैंचीमार खुट्टा चलाउँदै गाउँ नै थर्किने गरी गर्ज्यो, “ककसले भोट हालेन सब थाहा छ, मैले एकएकजनालाई जान्या छु…।”

त्यसपछि सुखवीर पनि सुखीपुरमा बस्न सकेन। शहर पस्यो। शहरमा काम धेरै पाइन्छ, ज्याला राम्रो पाइन्छ भन्ने सुनेथ्यो। कति कमाउँला, केके न गरौंला भन्ने धोको लिएर ऊ शहर पसेथ्यो, तर शहरमा त झन् मान्छेले मान्छेलाई चिन्दा रहेनछन्। ज्यामीले ज्यामीकै द्रोह गर्ने, मालिकले मालिककै। जताततै उछिनाउछिन। कत्ति थरी कुल्लीसँग उसले बगालमा मिलाइदिन अनुरोध गर्‍यो तर अहँ कसैले मानेन र अन्त्यमा ऊ नाइके नरहरिको फेला पर्‍यो। योसँग काम गर्न कस्तो गाह्रो छ। कुनै दिन नाइकेले कमिसन नपाउने काममा गयो भने नरहरिले ताना कस्छ, “सुखवीरले अब हामीलाई के गन्थ्यो र ?”

अनि त्यैं झोंकमा दुई तीन दिन आफ्नो हातको काम लगाउँदैथ्यो। कमिसन पनि अलिअलि हो र ? आम्मै, ददस रूपियाँ खाइदिन्छ मोराले। नाइके नरहरि र नेता नीलकान्त। कस्तो समानता। अचेल त सुखीपुरमा नीलकान्तकै रजाइँ छ। खेत अधियाँमा लाउनेदेखि केके जाति समितिमा मान्छे राख्नेसम्म उसैको हैकम छ। गाउँका कारिन्दादेखि जिल्ला सदरमुकामसम्म सबले उसैका कुरा खान्छन्। पहिलापहिला पितनाथकाँ भित्रिने कोसेलीपात अचेल नीलकान्तेकाँ भित्रिन्छन्। नीलकान्त र पितनाथको लगनगाँठो फेरि कस्सिएछ। बरा, हामीजस्ता त खेदिया खेदियै।

नजिकै भइरहेको माइकिङको चर्को आवाजले झल्याँस्स भएर ऊ सजग हुन्छ र गाउँ छाडेर शहर पस्छ। ‘अक्कासिँदो महँगी, राष्ट्रव्यापी गुण्डागर्दी, बढ्दो अशान्ति, कालाबजारी र भ्रष्टाचारीविरुद्ध आज दिउँसो विरोध प्रदर्शन र सहिद मञ्चमा विशाल आमसभा।’ माइकको चर्को स्वर सुनिन्छ।

समय निकै घर्किसकेछ। चोकमा थुपारेको ढुंगा तीन जना नौला ज्यामीहरूले ओसार्न थालिसकेछन्। ‘लौ यो काम पनि फुत्क्यो।’ ऊ पछुताउँदै वरपर हेर्छ। कुल्ली साथीहरू हिँडिसकेछन्, तामाङ र बखतबहादुर मात्र बाँकी रहेछन्। नाइके नरहरि पनि हिँडिसकेछ। तुवाँलो फाटिसकेर घाम पनि झुल्किसकेथ्यो तर जाडो घटेको थिएन। घाममा न्यानोपन थिएन।

“धत, के घाम लाग्या’ होला, घाम घामजस्तो छैन, आङै तताउन नसक्ने घाम के घाम ?” कैफियतस्वरूप सुखवीर फतफतायो र ‘के गर्ने होला ?’ को अन्यमनस्कतामा छिनभर टोलायो, घोरियो र निष्कर्ष निकाल्यो, ‘हरेस खानु राम्रो होइन, पाखुरीमा बल छउन्जेल हिम्मत हार्नु हुँदैन।’ र भन्यो, “हिँड् बखते। मूल चोकतिर जाऔं, काम भेटे गरौंला नभेटे जुलुसतिर जाऔंला।”

अनि उनीहरू तीनै जना मूलचोकतिर लम्के।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved