आईपीएलको मेगा अक्सनः ६ खेलाडी, जसमाथि पैसाको खोलो बग्न सक्छ

टी-ट्वान्टी क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेल, अष्ट्रेलियाका फाष्ट बलर मिचेल स्टार्क, इंल्याण्डका ह्वाइट बल क्रिकेटका स्टार अलराउण्डर बेन स्टोक्स र इंल्याण्डका टेष्ट टिम कप्तान जो रुटलगायत खेलाडी यो अक्सनमा हुने छैनन्।

आईपीएलको मेगा अक्सनः ६ खेलाडी, जसमाथि पैसाको खोलो बग्न सक्छ

काठमाडौं। आउँदो शनिबार विश्वभरिका क्रिकेट खेलाडीहरू र समर्थकहरूको ध्यान भारत तर्फ हुनेछ। किनकि शनिबार र आइतबार दुई दिन भारतको बेंगलुरुमा इण्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको मेगा अक्सन हुँदैछ।

आईपीएल हालको विश्व क्रिकेटकै सर्वाधिक सफल र प्रख्यात ‘फ्रेन्चाइज क्रिकेट लिग’ हो। जुन लिगमा खेल्ने सपना अधिकांश क्रिकेट खेलाडीको हुन्छ। तर सबै क्रिकेट खेलाडीले आईपीएल खेल्ने मौका पाउँदैनन्।

आईपीएल खेल्नका लागि कुनै एक टिमले त्यो खेलाडी किन्ने इच्छा देखाउनुपर्छ। अबका आईपीएलका सिजनका लागि विश्वभरिका खेलाडी किन्न नै यो ठूलो खेलाडी लिलामी, मेगा अक्सन हुन लागेको हो।

यो पटक लिगमा लखनउ सुपर जाइन्टस् र अहेमदाबाद टाइटान्स् नामक दुई नयाँ टिम थपिएका छन्। जसले गर्दा आईपीएलमा कूल टिम संख्या १० पुगेको छ।

अब यो मेगा अक्सनपछि अर्को अक्सन चाँडै नगर्ने योजनामा आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) रहेको छ। भविष्यमा आईपीएलमा पनि फुटबलजस्तै अक्सनमा नगई टिमले चाहेको खेलाडी सीधै अनुबन्धन गरेर खेलाउने शैलीमा जाने योजनामा बीसीसीआई छ।

त्यसैले लङ टर्म प्लानका हिसाबले धेरै टिमको आँखा यो अक्सनमा युवा खेलाडीमा हुनेछन्।

यो पटक हरेक टिमले अक्सनअघि बढीमा चार खेलाडी मात्र रिटेन गर्न पाउँछन्। कतिपय टिमले चार खेलाडी पनि रिटेन गरेका छैनन्। रिटेन गरिएका बाहेक विश्व भरिका सबै प्रमुख खेलाडी अक्सनको टेबलमा हुनेछन्।

अक्सनमा १० टिमले दुई दिनमा कूल ५९० खेलाडी माथि बोली लगाउनेछन्। प्रत्येक खेलाडीलाई जुन टिमले बढी रकममा खरिद गर्न चाहन्छ त्यो खेलाडी उसकै हुन्छ।

अक्सनमा ३७० भारतीय र २२० अन्य देशका खेलाडी छन्। यीमध्ये नेपालका सन्दीप लामिछानेसँगै ७ खेलाडी एशोसियट राष्ट्रका पनि छन्। यसअघिका १४ औँ संस्करणको अक्सनमा सबैभन्दा महँगो पैसामा बिकेका खेलाडी हुन् दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस। गत वर्षको लिगमा राजस्थान रोयल्स्ले उनलाई हालसम्मकै सर्वाधिक बढी रकम १६.२५ करोड भारुमा किनेको थियो।

यो पटकको अक्सनमा मोरिसको रेकर्ड तोडिने सम्भावना प्रबल छ। तर त्यो कुन खेलाडी होला त जसलाई यो आईपीएल अक्सनमा सबैभन्दा बढी पैसा खर्च गर्न टिम तयार हुनेछन्?

१० टिममध्ये कलकता, बेंगलोर र पञ्जाबको टिमसँग कप्तान छैन। त्यसैले यो अक्सनमा कप्तान पनि हुन सक्ने खेलाडीले नै सबैभन्दा बढी रकम पाउने सम्भावना छ। जसमा पनि भारतीय स्टार खेलाडी पहिलो रोजाइमा पर्नेछन्।

श्रेयस ऐयर (भारत)

भारतको तीनै फरम्याटको राष्ट्रिय टिमबाट खेलिसकेका श्रेयस ऐयर कप्तान मेटेरियल हुन्। उनी मध्यक्रमका भरपर्दा ब्याट्सम्यान पनि हुन्, जसले फस्न लागेको टिमको पारिलाई जोगाउन एंकरको भूमिका निभाउन सक्छन्।

त्यस्तै स्पिन बलिङविरुद्ध राम्रो ब्याटिङ गर्ने भएकाले पनि यो अक्सनमा उनी महँगो मूल्यमा बिक्री हुनेछन्। कप्तान नभएका तीन टिम; कलकता, बेंगलोर वा पञ्जाब उनको पछि लाग्ने देखिन्छ। त्यस्तै धोनीपछिको कप्तानका रूपमा चेन्नईले पनि उनमा लगानी गर्न सक्छ।

सन् २०१५ देखि दिल्लीबाट खेलेका उनी २०१८ मा गौतम गाम्भिरले कप्तानी छाडेपछि दिल्लीको कप्तान बनेका थिए। सन् २०२० मा उनले दिल्लीलाई पहिलो पटक लिगको फाइनलसम्म पुर्‍याएका थिए।

तर गत वर्ष भने चोटका कारण करीब आधा लिग गुमाएपछि दिल्लीले रिषभ पन्तलाई कप्तानीको जिम्मा दियो भने यो वर्ष उनलाई रिटेन पनि गरेन।

डेभिड वार्नर (अष्ट्रेलिया)

डेभिड वार्नर पनि कप्तानी भूमिका निभाउन सक्ने र ओपनर ब्याटिङका कारण यो पटक अक्सनमा धेरै पैसा पाउने खेलाडीमा पर्न सक्छन्। उनकै कप्तानीमा हैदारावादले सन् २०१६ मा लिग उपाधि जितेको थियो।

उनी आईपीएल इतिहासकै सर्वाधिक सफल विदेशी खेलाडीमा पर्छन्। यो लिगका तीन पटकका सर्वाधिक रन स्कोरर उनी स्पिन राम्रो खेल्ने र कन्सिस्टेन्ट ब्याटिङका कारण सबै टिमको नजरमा पर्न सक्छन्।

सन् २०१४ देखि २०२० सम्मको सात सिजनमा उनले ५० भन्दा माथिको औसत र करीब १४५ को स्ट्राइक रेटमा ३ हजार ८ सय १९ रन जोडेका छन्। जुन विराट कोहलीले आईपीएलमा हालसम्म जोडेका रनभन्दा पनि बढी हो।

वार्नरले आईपीएलको ६ सिजनमा ५०० सयभन्दा बढी रन जोडेका छन्। पछिल्लो समय उनी फर्ममा पनि छन्। गत वर्षको टी-ट्वान्टी विश्वकप अष्ट्रेलियाले जित्दा उनी प्लेएर अफ दी टुर्नामेन्ट भएका थिए।

भारतीय टिमका पूर्वखेलाडी मोहमद कैफका अनुसार पनि यो पटक अक्सनमा बढी पैसा पाउने खेलाडीमा डेभिड वार्नर एक हुन्।

इसन किसन (भारत)

विकेट किपर ब्याटर भएका कारण नै इसन किसन यो अक्सनमा महँगा साबित हुने पक्का छ। टी-ट्वान्टी क्रिकेटका लागि चाहिने आक्रामक ब्याटिङ उनको प्रमुख विशेषता हो।

मुम्बईले उनलाई रिलिज गरेकोमा नै धेरैले आश्चर्य व्यक्त गरेका थिए। अन्य धेरै राम्रा खेलाडी भएकाले नै मुम्बईको रिटेन गर्ने चार खेलाडीको कोटामा उनी पर्न सकेनन्।

सन् २०२० मा मुम्बईले लिग उपाधि जित्दा उनी सर्वाधिक रन स्कोरर थिए। भारतीय राष्ट्रिय टिमको एकदिवसिय र टी-ट्वान्टी फरम्याटमा डेब्यू खेलमा नै अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्।

युवा खेलाडी किसनले भारतको यू-१९ टिमको कप्तानी गरिसकेका छन्। त्यसैले कप्तानको भूमिकामा पनि रहन सक्ने कारणले उनीमाथि पनि धेरै टिमले पैसा खर्च सक्छन्।

क्वाइन्टन डी कक (दक्षिण अफ्रिका)

हालका सर्वाधिक सफल बिकेट किपर ब्याटर हुन क्वाइन्टन डी कक। ओपनिङ ब्याटिङ र उच्चस्तरको विकेट किपिङका कारण उनी पनि महँगो खेलाडीको सूचीमा पर्न सक्छन्।

हालसम्म आईपीएलमा खेलेका ७७ खेलमा २ हजार २०० भन्दा बढी रन जोडिसकेका उनले १६ अर्धशतक पनि प्रहार गरेका छन्। सन् २०२० मा मुम्बईले लिग उपाधि जित्दा उनले ५०० प्लस रन स्कोर गरेका थिए।

त्यस्तै उनी दक्षिण अफ्रिकाको तीनै फर्म्याटका पूर्वकप्तान पनि हुन्। त्यसैले कप्तानको खोजीमा रहेका टिमहरू अक्सनमा उनको पछि लाग्न सक्छन्।

कागिसो रबाडा (दक्षिण अफ्रिका)

तीव्र गतिका बलर रबाडा योर्कर किंग हुन् जसले म्याच चेन्जरको भूमिका निभाउन सक्छन्। आईपीएलको गत तीन सिजनमा उनले ७० विकेट लिएका छन्। उनको एक मात्र कमजोरी भनेको धेरै विकेट लिएसँगै धेरै रन खाने हो।

तर १४० देखि १५० किलोमिटर प्रतिघण्टाको गतिमा लगातार बलिङ गर्न सक्ने क्षमता उनमा छ। डेथ ओभर स्पेसलिष्टका कारण पनि उनीमाथि धेरै टिमले पैसा खन्याउन सक्छन्।

सन् २०२० मा दिल्लीलाई फाइनलमा पुर्‍याउन उनले सर्वाधिक ३० विकेटसँगै ‘पर्पल क्याप’को उपाधि जितेका थिए। साथै तल्लो क्रममा लामो सट खेल्न सक्ने अर्को क्षमता पनि उनमा छ।

प्याट कमिन्स (अष्ट्रेलिया)

अष्ट्रेलियाको टेष्ट टिमका कप्तान प्याट कमिन्सलाई सन् २०२० मा सो समय सम्मको सर्वाधिक महँगो रकम १५.५ करोड भारुमा कलाकताले किनेको थियो। रबाडाजस्तै तीव्र गतिको बलिङ र डेथ ओभर स्पेसलिष्ट भएका कारण उनी पनि धेरै पैसामा बिक्न सक्ने खेलाडीमा पर्छन्।

साथै उनी ब्याटिङमा फिनिसरको भूमिकामा खेल्न सक्ने विश्वस्तिरीय अलराउण्डर हुन्। यी खेलाडीसँगै भारतीय स्पिनर रविचन्द्रन आश्विन र युजवेन्द्र चहल, भारतकै फाष्ट बलर दिपक चहर र गत वर्षका सर्वाधिक विकेट टेकर हर्षल पटेल तथा ओपनर शिखर धवन र अष्ट्रेलियन ब्याटर मिचेल मार्स पनि यो अक्सनमा महँगोमा बिक्न सक्ने सम्भावना भएका खेलाडी हुन्।

तर यो पटकको अक्सनसँगै आईपीएलमा पनि केही स्टार खेलाडीलाई समर्थकले देख्न पाउने छैनन्। टी-ट्वान्टी क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेल, अष्ट्रेलियाका फाष्ट बलर मिचेल स्टार्क, इंल्याण्डका ह्वाइट बल क्रिकेटका स्टार अलराउण्डर बेन स्टोक्स र इंल्याण्डका टेष्ट टिम कप्तान जो रुटलगायत खेलाडी यो अक्सनमा हुने छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved