शेखर कोइरालाले दुई घण्टा बिताए ओली निवासमा, कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे छलफल

नेपालभ्युज

शेखर कोइरालाले दुई घण्टा बिताए ओली निवासमा, कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे छलफल

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर करिब दुई घण्टा बिताएका छन्।

नेता कोइराला बालकोटस्थित ओली निवासमा साँझ ६ बजे पुगेका थिए। ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार उनी एक्लै गएका थिए।

ओलीसँग एक्लाएक्लै करिब आठ बजेसम्म शेखरले समय बिताएका स्रोतले जनाएको छ। त्यस क्रममा नेता कोइरालाले एमसीसी, स्थानीय निकायको निर्वाचन र समसामयिक राजनीतिबारे ओलीसँग छलफल गरेका कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जनाएका छन्।

ओलीसँग करिब आठ बजेसम्म एक्लाएक्लै छलफल भएको थियो। बजगाईंले दुई नेताबीच एक्लाएक्लै करिब दुई घण्टा छलफल भएको त बताए तर बैठक नसकिँदै आफू त्यहाँबाट निस्किएकाले विषयवस्तुबारे यकीन भन्न नसक्ने बताए ।

कांग्रेस स्रोतका अनुसार कोइराला बालकोट जानुअघि आफू पक्षधर केही नेताहरूसँग छलफल गरेका थिए। उनले महामन्त्री गगन थापासँग पनि कुराकानी गरेर बालकोट गएको स्रोतले जनाएको छ ।

कोइरालानिकट एक नेताले दिएको जानकारीअनुसार उनले एमसीसीका कारण नेपाली राजनीतिमा पैदा गरेको तरंग र स्थानीय चुनावका विषयमा ओलीसँग छलफल गरेका थिए। भेटमा एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको बारेमा दुवै नेताहरूले चिन्ता व्यक्त गरेका थिए।

ओलीले कोइरालासँग आगामी निर्वाचनमा कांग्रेसले माओवादी र एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग गर्नसक्ने गठबन्धनबारे पनि छलफल भएको थियो।

कोइरालाले सभापति देउवा गठबन्धन जोगाउनुपर्ने बाध्यताका कारण प्रष्ट नबोले पनि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्न नसक्ने र त्यसका लागि आफूहरूले दबाबमूलक भूमिका खेल्ने बताएका थिए ।

ओलीले एमाले–कांग्रेसबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने र एक्लाएक्लै चुनाव लड्नुपर्ने बताउँदै यसअघि माओवादीसँगको गठबन्धनबाट आफूले धोका पाएको पनि बताएका थिए।

कोइरालाले सभापति देउवाले चाहे पनि स्थानीय चुनावमा गठबन्धन संभव नहुने बताएका थिए । उनले सि‌ंगो पार्टीपंक्ति गठबन्धनको विपक्षमा रहेकाले आफूहरुले त्यसो हुनबाट रोक्नसक्ने विश्वास दिलाएका थिए ।

छलफलका क्रममा सभामुख अग्नि सापकोटाले संसद्को बैठक एमसीसी टार्ने रणनीतिका रुपमा पछि सारिरहेकोबारे पनि छलफल भएको स्रोतको दाबी छ। जसरी पनि एमसीसीलाई संसद्मा आउन नदिन सभामुखले बैठक सारिरहेका ओलीले बताएका थिए।

ओलीले सभामुखले सिर्जना गरेको बाधाका कारण एमालेले संसद् अवरुद्ध गर्नुपरेको बताउँदै आफूले प्रधानमन्त्री छँदा एमसीसी संसद्मा ल्याउन खोज्दा पनि सभामुखले अस्वीकार गरेको पनि बताएका स्रोतले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved