सम्झौताको दुई वर्षपछि बल्ल फिर्के खोलाको पुल ढलान, खुशी भए स्थानीय

सम्झौताको दुई वर्षपछि बल्ल फिर्के खोलाको पुल ढलान, खुशी भए स्थानीय

पोखरा। तोकिएको समयमै आयोजना सम्पन्न भएको भए यतिखेर पोखरा फिर्केखोलाको पुलमा सवारी कुदिरहेका हुन्थे।

स्थानीयहरू मज्जैले वारपार गरी आफ्नो गन्तव्यमा सहजै पुग्थे पनि होला। वरपर व्यवसाय गर्ने व्यवसायीहरू व्यवसायमै व्यस्त हुन्थे। तर, आयोजना समयमै पूरा नहुँदा पुल वरपर व्यवसाय गर्ने व्यवसायीदेखि स्थानीयलाई समेत असर गरेको थियो। पुल निर्माण सम्झौता भएको दुई वर्षपछि बल्ल पुलको ढलान कार्य शुरु भएको छ।

संघीय सरकारको ७० र महानगरको ३० प्रतिशत विनियोजित बजेटलाई सम्झौताअनुसार चालु गर्न नसक्दा उक्त पुल निर्माण कार्यले बल्ल बन्ने संकेत देखिएको छ। “बल्ल तनाव कम भएको छ। दायाँबायाँ अलिकति पर्खाल लगाउन बाँकी छ। मुख्य पाटो सकियो,” पोखरा-४ वडाअध्यक्ष शंकर बाँस्तोलाले भने, “पुल निर्माण शुरु गरेको लामो समय भए पनि निकै राम्रो पुल बन्न लागेको छ। भोलिका दिनमा यस्तो पुल बन्छ बन्दैन थाहा छैन्। यो पुलले आर्कषण गर्नेछ।”

पुल निर्माण शुरु गरेको केही महीनापछि नै कोभिडले कामलाई बाधा पुर्‍याएको उनले सुनाए। “कोभिडले ६ महीना शून्य समयजस्तो भयो। त्यसपछि २/४ महीना प्राविधिक समस्याले ढिला हुन पुग्यो,” बाँस्तोलाले भने, “काम गर्ने मान्छेको अभाव पनि भयो। पुलको मुख्य काम बंगालीहरूले राम्रो गर्ने भनेर उनीहरूलाई बोलाउँदा कहिले को आउनी, कहिले को नआउनी गर्दा समस्यामा परियो।”

१५ मिटर लम्बाई र दुईतर्फ फुट ट्रयाकसहित ११ मिटर चौडाइको आरसीसी टिबिम पुल निर्माण हुन लागेको हो। पुल निर्माण ढिला हुँदा पैदलयात्रीलाई समस्या भएको उनी स्वार्काछन्।

“पैदलयात्रीलाई परेको समस्या हामी महशुस गर्छौं। तोकिएको समयमा भ्याइएन। स्थानीय आक्रोशित हुनुपनि स्वाभाविक नै थियो,” उनले भने, “अब पुलको समस्या सकिन लागेको छ। फागुनमा पुल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। निर्माण टिम सोहीअनुसार लागि परेको छ।” पुलको मुख्य काम सकिएको हुँदा निर्माण कम्पनीले ढिलासुस्ती गरे पनि माटो हालेर भए पनि साना गाडी कुदाउन सकिने बाँस्तोलाले बताए।

निर्माण कम्पनीका इन्जिनियर रामनारायण यादवले तोकिएको सम्झौतामा पुल निर्माण हुन नसकेको स्वीर्काछन्। “पुल निर्माणको चरण शुरु गर्दा कोरोना आयो, बीचमा स्थानीयहरूको जग्गाको विवादले गर्दा ढिला हुन पुग्यो,” उनले भने, “सबै समस्या सुल्झिएको छ। अब अवस्य पुल निर्माण पूरा हुँदैछ।”

१ भदौ २०७६ मा पोखरा महानगरपालिका र शान्ति आरोग्य जेभी सानेपा (निर्माण व्यवसायी) बीच ५ मंसीर २०७७भित्र आर्क पुल निर्माण गरिसक्नुपर्ने गरी ४ करोड ५५ हजार ८ सय ३ रुपैयाँ ७२ पैसामा सम्झौता भएको थियो।

सम्झौता रकम ४ करोड भए पनि महानगरको रेडबुकको शीर्षक नम्बर ३१ हजार १ सय ५१ मा ३ करोड ३९ लाख ६६ हजार बजेट विनियोजन गरिएको उल्लेख छ। सम्झौताअनुसार ५ मंसीर २०७७ मा पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो।

पुल नबन्दा स्थानीय आक्रोश

मंसीर २०७६ बाट शुरु गरिएको काम तीन दिनपछि बन्द गरिएको थियो। स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा निर्माण कम्पनीलाई पुल निर्माण कार्यमा ढिला नगरिदिन पटकपटक सहमति भए पनि कामले निरन्तरता पाउन नसक्दा स्थानीय आक्रोशित भएका थिए। निकै व्यस्त सडकको वैकल्पिक मार्ग नखोजी पुल निर्माण गर्दा स्थानीयहरू आक्रोशित बन्नु स्वाभाविक थियो।

यही असोजमा सिद्धार्थ मार्ग फिर्के पुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले बाटोमा बाँस झुन्डाएर विरोध जनाएका थिए। कारण, समयमै पुल नबन्नु। १५ महीनामा पुल सम्पन्न गर्ने भनिए पनि २५ महीनासम्म निर्माण नसकिँदा स्थानीयहरू आक्रोशित भएका थिए।

स्थानीय जनप्रतिनिधिले पुल निर्माण सम्पन्न हुने समयसम्म कम्तीमा दुईपाङ्ग्रे वैकल्पिक बाटो बनाउने आश्वासन दिएपछि विरोध सभा शान्त भएको थियो। लामो कोरोना कहरपछि पुल छेउछाउका बजार खुले पनि व्यापार शून्य थियो। पुल निर्माण शुरु गर्दा जग्गा मिचेको भन्दै पछि स्थानीयले पुनः काममा बाधा पुर्‍याएका थिए।

अब भने पुल बन्ने पक्का भएपछि छेउछाउका व्यवसायीहरू खुशी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved