दुर्घटना न्यूनीकरण गर्न कलाभीरमा ‘रेलिङ’

पहिला बाटो निर्माणका लागि सरकारले ३ लाख रुपैयाँ मात्र दिएपछि स्थानीयले २ करोड रुपैयाँ रकम उठाएर आफैले खनेर बाटो बनाएका थिए।

दुर्घटना न्यूनीकरण गर्न कलाभीरमा ‘रेलिङ’

पोखरा। यही २५ असोजमा काठमाडौंबाट घान्द्रुक घुम्न आएका ९ जना आन्तरिक पर्यटक कलाभीरमा जीप दुर्घटनामा परे। दशैंको छुट्टीमा पदयात्रामा हिँडेका ८ जना ज्यानले दुर्घटना गुमाए भने एक जना मात्र जीवित रहे। जीप भीरमा अड्किएको अवस्थामा भेटिएका थिए।

कलाभीर निकै अप्ठ्यारो बाटोकै कारण वर्षेनी दुर्घटना भइरहने ठाउँ हो। पर्यटकीय गाउँ घान्द्रुकमा घुम्नको लागि आन्तरिकदेखि बाह्य पर्यटकको ओइरो लाग्ने गर्छ। तर, विडम्बना कच्ची बाटोको सामना गर्दै जानु यात्रुको बाध्यता बनेको छ।

हाल सालै कलाभीरमा रेलिङ निर्माण गरिएको छ। कलाभीरमा हुने दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले लामा अमृत फाउण्डेशनले उक्त कार्य गरेको हो। फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले घान्द्रुकमा सवार गर्दा सुरक्षित आभास होस् भन्ने हेतुले यो कार्य अगाडि बढाएको बताए। ‘‘घान्द्रुकका स्थानीय होटेल, पर्यटन व्यवसायीहरूसँग आर्थिक सहयोग जुटाएर रेलिङ निर्माण गरिएको हो,’’ उनले भने, ‘‘गत असोजको दुर्घटनालाई पर्यटनहरूलाई नराम्रो सन्देश गएकाले बाटो सुरक्षित बनाउन लागि परेको हौं। कालाभिरमा रेलिङ र ५ वटा घुम्तीमा ऐना समेत राखेका छौं।’’

सम्भावित दुर्घटना कम गर्ने उद्देश्यले करीब १ लाख ४५ हजार रुपैयाँको लगानीमा भीरमा रेलिङ निर्माण गरिएको गुरुङले जानकारी दिए। ‘‘अब यात्रुमहानुभावलाई घान्द्रुक आउनको लागि कठिन हुँदैन,’’ उनले भने, ‘‘रेलिङ निर्माण गर्दा जमिनमा पनि पीसीसी गरेर गाडिएको छ। सवारीलाई यसले सहजै रोक्न सक्छ।’’ रेलिङ निर्माण गर्न १० दिन लागेको उनले बताए। घान्द्रुक जाने बाटोमा जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लागि बिनियोजना भएको छ।

‘‘पहिला बाटो निर्माण हुँदा सरकारले ३ लाख मात्र दिएको थियो। स्थानीय समुदायबाट २ करोड रकम उठाएर गाउँलेले आफैले खनेर बनाएको बाटो हो,’’ उनले भने, ‘‘अहिलेको सरकारबाट रकम विनियोजन भएको छ। जोखिम क्षेत्रमा ढलानको काम शुरु हुनेछ।’’

पहिले बाटो थिएन

अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटक घान्द्रुक गाउँ पुग्न पहिला पैदल यात्रा नै गर्नुपर्थ्यो। घण्टौं पैदल यात्रा गरेर घान्द्रुक घुम्न जान्थे। सडक विस्तार भएपनि गाउँसम्म बाटो पुगेको थिएन। विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको थियो। पहिला धाम्लेसम्म सवारीमा गएर त्यहाँबाट करीब डेढ घण्टा पैदल हिँडेर घान्द्रुक गाउँ पुग्नुपर्थ्यो। त्यसताका गोरेटो बाटोको मज्जा लिँदै पर्यटकहरू घान्द्रुक पुग्ने गर्थे। पोखरा बागलुङ सडकखण्डको नयाँपुल ओर्लेर बिरेठाँटी बजारबाट उल्लेरी हुँदै अन्नपूर्ण पदयात्रामा पर्यटकहरूका लागि आर्कषण गन्तव्य हो घान्द्रुक। समुद्र सतहदेखि एक हजार नौ सयको उचाईमा रहेको घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, हिमचुली जस्ता हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ।

पर्यटकको आकर्षण

घान्द्रुक घुम्नको लागि सिजन अफसिजन भन्ने नै नहुने लामा अमृत फाउण्डेसनका अध्यक्ष अमृत गुरुङ बताउँछन्। ‘‘यहाँ आउनको लागि अफसिजन भन्ने नै हुँदैन, वर्षायामको बेला केही समस्या हुन्छ,’’ उनले भने, ‘‘घान्द्रुक गाउँ पर्यटकले रूची राखेको ठाउँमा पर्छ।’’ अहिले भने घान्द्रुकमा उति साह्रो पर्यटक छैनन्। कारण, तेस्रो कोभिड भेरियन्ट।

‘‘अलिअलि चिसो पनि बढ्यो। कोभिडको तेस्रो भेरियन्टको हल्लाले पनि पर्यटक खुलेर आउन सकेका छैनन्,’’ गुरुङले भने, ‘‘एक सयको हाराहारीमा त अहिले पनि पर्यटक जाने गर्छन्। त्यो नर्मल हो। दैनिक ८ सय घुम्न आउने ठाउँ हो घान्द्रुक।’’

घान्द्रुकमा पर्यटकको लागि भनेर होमस्टेसहित झन्डै ८० होटेल छन्। ‘‘सबै होटेल भरिएको रेकर्ड पनि छ। सवारी पार्किङ गर्ने ठाउँ ठूलो रहेको छ,’’ उनले भने, ‘‘अहिले भने ओमिक्रोनले निकै असर गरेको छ।’’

गुरुङ समुदायको बसोबास रहेको घान्द्रुकमा प्रशस्त गुरुङ होमस्टे छन् भने केही दलित समुदायले पनि होमस्टे सञ्चालन गर्दै आएका छन्। सस्तो बसाइ र घरपरिवारसँगै रमाएर घर परिवारसँग बसेर खान पाइने भएकाले पनि यहाँ आउने पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको छ। बाक्लो बस्ती रहेको पुरानो घान्द्रुक गाउँबाट १० मिनेटको उचाईतिर लाग्यो गुरुङ होमस्टे भेटिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved