उपत्यकामा अधिकांश विद्यार्थीले पाए खोप, यस्तो छ नगरपालिकाहरूको दोस्रो डोज तयारी

केही स्थानीय तहमा पहिलो डोज लगाउन छुटेका विद्यार्थीको विवरण रुजु भइरहेको छ। केही स्थानीय तहले भने दोस्रो डोज लगाउने मिति तय समेत गरिसकेका छन्।

उपत्यकामा अधिकांश विद्यार्थीले पाए खोप, यस्तो छ नगरपालिकाहरूको दोस्रो डोज तयारी

काठमाडौं। काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका अधिकांश विद्यार्थीले कोभिड-१९ विरुद्ध पहिलो डोज खोप लगाएका छन्। उपत्यकामा रहेका २१ ओटा स्थानीय तहले विद्यालयमा नै खोप केन्द्र तोकेर विद्यार्थीलाई कोभिड-१९ विरुद्धको मोर्डना र फाइजर खोप वितरण गरेका थिए।

अहिले केही स्थानीय तहमा पहिलो डोज लगाउन छुटेका विद्यार्थीको विवरण रुजु भइरहेको छ। केही स्थानीय तहले भने दोस्रो डोज लगाउने मिति तयसमेत गरिसकेका छन्।

ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र भक्तपुर नगरपालिकाले दोस्रो मात्राको खोप लगाउने मिति तोकेका हुन्।

ललितपुर महानगरपालिकाले २० माघ देखि २५ माघसम्म दोस्रो मात्रा खोप लगाउने भएको छ। ललितपुरका प्रशासकीय प्रमुख गणेश अर्यालका अनुसार, २० माघदेखि २५ माघसम्म दोस्रो मात्रा लगाउने योजना बनाइएको छ।

उनले भने, “२० माघमा वडा नं १ देखि ४, २१ माघमा वडा नं ५ देखि ८, २३ माघमा वडा नं ९ देखि १५, २४ माघमा वडा नं १५ देखि २१ र २५ माघमा वडा नं २२ देखि २९ सम्मका विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुनेछ।”

पहिलो मात्राको खोप लगाउन छुटेका १२ देखि १७ उमेर समूहका विद्यार्थीले त्यतिबेला फेरि खोप पाउने उनले जानकारी दिए।

गोकर्णेश्वर नगरपालिकाले पनि पहिलो मात्राको खोप अभियान सम्पन्न गरिसकेको छ। १६ हजार एक सय ४२ जनालाई खोप लगाइएको नगरपालिकाले बतायो। छुटेका बालबालिकालाई शहरी स्वास्थ्य क्लिनिकबाट खोप दिइएको छ। २१ माघदेखि दोस्रो डोज वितरण शुरु गर्न लागिएको बताइएको छ।

चन्द्रागिरि नगरपालिकाले पनि पहिलो मात्राको खोप लगाइसकेको छ। २० माघदेखि २३ माघसम्म दोस्रो मात्राको खोप लगाउने तयारी भइरहेको नगरपालिकाका नासु देवराज कपाडीले जानकारी दिए। “नौ वटा पालिकाको विद्यालयमा खोप केन्द्र तोकेका छौं, पहिले डोज लगाएका विद्यार्थीले दोस्रो र पहिलो मात्रा लगाउन छुटेको भए उनीहरूलाई पनि खोप लगाइनेछ”, कपाडीले जानकारी दिए।

महालक्ष्मी नगरपालिकाले पनि २१ देखि २७ माघसम्म दोस्रो डोजको खोप लगाउने तयारी गरिरहेका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए। त्यसका लागि १० ओटा वडाका विद्यालयमा खोप केन्द्र तोकिएको उनले बताए।

भक्तपुर नगरपालिकाले २७, २८ माघ र १ फागुनमा दोस्रो मात्राको खोप लगाउने योजना बनाएको डा. रन्त लासुवालले जानकारी दिए। पहिलो खोप लगाउन छुटेका विद्यार्थीलाई ख्वप अस्पतालमा हरेक हप्ताको आइतबार लगाइने गरेको उनले बताए।

लगाउँदैछन् छुटेकाले

कागेश्वरी मनोहरा नगरपालिकाले पनि पहिलो डोजको खोप कार्यक्रम सम्पन्न गरिसकेको छ। दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको र कोही छुटेको भए नौ वटै वडाका स्वास्थ्य चौकीबाट खोप पाउने शिक्षा शाखाका विमलप्रसाद निरौलाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको निर्देशन र खोप प्राप्त हुनासाथ दोस्रो डोजको खोप पनि वितरण शुरु गरिने उनले जनाए।

टोखा नगरपालीकाले ९० प्रतिशत बालबालिकालाई खोप लगाइसकेको त्यहाँका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताए। विद्यार्थीहरूले अनलाइनमार्फत नाम दर्ता गरेको आधारमा खोप लगाइएको उनले जानकारी दिए। छुटेका बालबालिकालाई ७ नं. वडाको स्वास्थ्य चौकीबाट खोप वितरण भइरहेको उनले बताए।

काठमाडौं महानगरपालीकाले पनि पहिलो चरणको खोप अभियान सम्पन्न गरिसकेको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। छुटेका बालबालिकालाई त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र परोपकार तथा प्रसूति अस्पतालमा खोप लगाइरहेको उनले बताए।

कीर्तिपुर नगरपालिकाले पनि पहिलो डोजको खोप कार्यक्रम सम्पन्न गगिरसकेको तर ५० प्रतिशत स्वास्थ्यकर्मी नै संक्रमित भएकाले तत्कालै दोस्रो डोजको खोप लगाउन नसकिएको शिक्षा शाखाका गोविन्दप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार नगरपालिकाले २५ माघपछि दोस्रो डोज खोप कार्यक्रम गर्ने तयारी गरिरहेको छ। छुटेका विद्यार्थीलाई विष्णुदेवी अस्पतालमा लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए।

दक्षिणकाली नगरपालिकाले पनि पहिलो डोज खोप लगाइसकेको र छुटेका बालबालिकाका लागि माघ मसान्तसम्म दीक्षा चौरमा निर्माणाधीन नगर अस्पतालमा लगाउने व्यवस्था गरेको शिक्षा शाखाका सुकुदेव नेपालले जानकारी दिए। १ फागुनबाट विद्यालयमा नै गएर दोस्रो डोज खोप लगाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

नागार्जुन नगरपालिकाले पनि पहिलो मात्राको खोप लगाइसकेको र छुटेका बालबालिकाका लागि डा नं ३, ४, ६, ८, १० को स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।

तारकेश्वर नगरपालिकाले पहिलो डोज खोप छुटेका बालबालिकालाई वडाका स्वास्थ्य चौकीबाट वितरण गर्ने व्यवस्था मिलाएको सूचना अधिकारी होमनाथ न्यौपानेले बताए।

चाँगुनारायण नगरपालिकाले विद्यालयमा नै खोप केन्द्र तोकेर खोप कार्यक्रम सञ्चालन गरेको र छुटेका विद्यार्थीलाई वडाका स्वास्थ्य चौकीमा गएर लगाउन मिल्ने व्यवस्था मिलाएको शिक्षा शाखाका दिनेश अर्यालले जानकारी दिए।

ललितपुरको कोन्ज्योसो गाउँपालिकाले पनि पहिलो मात्राको खोप लगाइसकेको र छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य चौकीमा गएर लगाउन पाउने व्यवस्था मिलाएको शिक्षा शाखा अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए।

बागमती गाउँपालिकाले पनि छुटेका बालबालिकालाई वडाका स्वास्थ्य चौकीबाट खोप लगाउन पाउने व्यवस्था मिलाएको शिक्षा शाखा अधिकृत कपिलमणि पौडेलले जानकारी दिए।

सूर्यविनायक नगरपालिकाले छुटेका विद्यार्थीलाई १६ माघमा खोप लगाउने व्यवस्था गरेको र बाँकी रहेकालाई दोस्रो डोजको खोप लगाउँदा सहभागी गराउने शिक्षा शाखाकी सरस्वती कोइरालाले जानकारी दिइन्। दोस्रो डोज लगाउने मिती अहिलेसम्म तय नभएको उनले बताइन्।

मध्यपुर थिमीले २५ माघबाट दोस्रो मात्राको खोप वितरण गर्ने तयारी गरेको सूचना अधिकारी केशव सिलवालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved