सचिवहरूलाई पुँजीगत खर्च बढाउनू भनेर बारम्बार दबाब दिनु राम्रो हुँदैनः अर्थमन्त्री शर्मा

नेपालभ्युज

सचिवहरूलाई पुँजीगत खर्च बढाउनू भनेर बारम्बार दबाब दिनु राम्रो हुँदैनः अर्थमन्त्री शर्मा

काठमाडौं। पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अर्थ मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष ०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा यस्तो बताएका हुन्।

अर्थमन्त्री शर्माको निजी सचिवालयले दिएको जानकारीअनुसार, मन्त्री शर्माले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए।

“पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा होइन”, उनले भने, “समस्याको सहजीकरण गर्नु ठीकै हो तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन। यसको अन्त्य गर्नुपर्छ।”

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए।

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए। जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्दै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिएका हुन्।

अर्थमन्त्री शर्माले खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न पनि आग्रह गरे। खर्चको अर्धवार्षिक समीक्षापछि आ-आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए। त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved