अलपत्र नेपालीको समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठद्वारा यूएईका राजदूतसँग छलफल

नेपालभ्युज

अलपत्र नेपालीको समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठद्वारा यूएईका राजदूतसँग छलफल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो। छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गई अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरे।

अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, बिचौलिया  तथा लामो समयदेखि युएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनिहरुलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरे।

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गरे। त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरे।

राजदुत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए। उहाँले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए।

साथै उहाँहरुबीच नेपाल – यूएई संयुक्त समितिको वैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो। ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, दलाल  तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनिहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved