जापानमा ११ वर्षमुनिका बालबालिकालाई पनि फाइजर खोप लगाइने

नेपालभ्युज

जापानमा ११ वर्षमुनिका बालबालिकालाई पनि फाइजर खोप लगाइने

काठमाडौं। जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ। जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो।

कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन्। पछिल्लो विवरणअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाइ छ।

जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ। विभिन्न कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ।

कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिए।

कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकुल प्रभाव पर्ने भन्दै विमति पनि जनाएका छन्। विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ।

अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०.७ प्रतिशत प्रभावकारी देखिएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved