अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका मिसाइल दिएको खुलासा

नेपालभ्युज

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका मिसाइल दिएको खुलासा

काठमाडौं । रूसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।

यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुगेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रूसी लक्ष्यमा हमला गर्न एक पटक उक्त मिसाइलको प्रयोग गरिएको छ ।

बाइडेनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन्।

अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, गत फेब्रूअरीमा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई बाइडेनले गोप्य रूपमा सहमति दिएको बीबीसीले जनाएको छ । यी क्षेप्यास्त्रहरूले ३०० किलोमिटरको दूरीमा मार गर्न सक्छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘अमेरिकाले राष्ट्रपतिको निर्देशनमा युक्रेनलाई लामो दुरीको एटीएसीएमएस उपलब्ध गराएको पुष्टि गर्छु । युक्रेनको अनुरोधमा अमेरिकाले यो जानकारी सार्वजनिक गरेको थिएन ।’

कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वाशिङ्टनको योजना रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved