प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून

छलफलमा मुख्यमन्त्री नै गयल

प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून

जनकपुरधाम। प्रदेश नम्बर २ को नाम र राजधानी मतदानबाट पनि नटुंगिने संकेत देखिएको छ। नाम र राजधानीका लागि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो अडान दोहोर्‍याएपछि सहमति जुट्न नसकेको हो।

नाम र राजधानीमा सहमति जुटाउनसभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ ओटा र राजधानीको नाममा ३ ओटा पेश गरेपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउन फेरि मतदान प्रक्रियामै गएको छ।

आइतबारको बैठकमा प्रदेशसभा सांसद्हरू बोल्ने क्रम नसकिएकाले आज सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको छ। सोमबार सांसद्को बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ।

समितिले सुझावसहित बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको छ। समितिले माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेशसभालाई अनुरोधसहितको प्रतिवेदन बुझाएको छ। समितिले गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतका व्यवस्थापन मिलाउने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ।

प्रदेशसभाका सचिव रञ्जितकुमार यादवको अनुसार समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ ओटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको छ। प्रदेशसभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिने छ। पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए अर्को प्रस्ताव मतदानका लागि प्रस्तुत नगर्ने विशेष समितिमा सहमति भइसकेको छ। राजधानीको लागि जनकपुरधामसहित धनुषा र महोत्तरीको भूभागलाई समेटिएको प्रस्ताव माथि पहिलो मतदान हुने छ।

नाम र राजधानीका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको सचिव यादवले बताए। ‘‘गोप्य मतदानका लागि आवश्यक तयारी भइसकेको छ ’’ उनले भने, ‘‘विगतमा भए जस्तो यसपटक समय पनि लाग्ने छैन।’’

सभामुख नेतृत्वको संसद्ीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ।

प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र) को साझा प्रस्ताव हो। जानकी नाममा भने एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो। यी सबै दलका बारा–पर्साका सांसद्को छुट्टै प्रदेशको नाम मध्य मधेस भनेर प्रस्ताव गरेका छन्। राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसद्हरूले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन्।

विशेष समितिले १५ दिन सम्म गरेको प्रयास सफल नभएपछि दलहरूको अडानसहितको प्रतिवेदनसभामा पेश भएको हो। आइतवार देखि प्रदेशसभामा पेश भएका प्रस्तावहरू उपर छलफल शुरु भएकोमा आज सोमवार बस्ने बैठकका लागि छलफललाई निरन्तरता र त्यसपछि मतदान हुने कार्यसूची बनाइएको छ।सभासदहरू आ–आफ्नो प्रस्तावको पक्षमा दृढता व्यक्त गरे पनि अन्तिममा राजधानी र नामकरणका प्रस्ताव पारित गर्ने संकेत गरेका छन्। विशेष समितिले तयार पारेको ६ बूँदे प्रतिवेदनमा गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायत व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाकोसभाकक्ष सित जोडिएको कक्षमा गर्न उल्लेख छ।

छलफलमा मुख्यमन्त्री नै गयल

आइतबार प्रदेश २ को प्रदेशसभा बैठकमा नाम र राजधानीको विषयमा छलफल चलिरहेको थियो। तर सो छलफल चलिरहँदा अधिकांश प्रदेशसभा सदस्यहरू गयल रहेको देखियो। जसपाका अधिकांश प्रदेशसभा सदस्यहरू पार्टीको कार्यक्रममा सहभागी भएका थिए। गयल हुनेको लिस्टमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत समेत परे।

मुख्यमन्त्री राउत दलबलसहित धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए तर प्रदेशको नाम र राजधानीका लागि प्रदेशसभामा चलिरहेको छलफलमा सहभागी भएनन्।

प्रदेशसभाको छलफलको क्रममा प्रदेशसभा सदस्य रानीकुमारी शर्माले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निर्कयौल लगाउने विषयमा गम्भीर नरहेको आरोप लगाइन्। उनले भनिन्, ‘‘मुख्यमन्त्री राउतका लागि प्रदेशको नामको विषयमा निष्कर्ष लगाउने लगाउनका लागि चलिरहेको छलफलमा सहभागी हुनका लागि समय छैन।मुख्यमन्त्रीका लागि प्रदेशको नाम पाउने विषय महत्वपूर्ण होइन, पार्टीको प्रवेश कार्यक्रम महत्वपूर्ण छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved