भारतमा संक्रमण बढ्दै जाँदा नेपालका तीन ओटा नाकामा यस्तो छ तयारी

भारतमा संक्रमित संख्या दैनिक दुई लाख नाघ्दा त्यससँग जोडिएका सीमामा क्वारेन्टाइन अनिवार्य गरिएको छैन । लक्षण देखिएकाको मात्रै परीक्षण गर्ने गरिएको छ ।

भारतमा संक्रमण बढ्दै जाँदा नेपालका तीन ओटा नाकामा यस्तो छ तयारी

काठमाडौं। छिमेकी देश भारतमा कोभिड-१९ संक्रमण तीव्र गतिमा बढ्दै गएपछि रोजरागीका लागि गएका नेपाली भित्रिने क्रम बढ्दै छ। जसले गर्दा नाकाहरूमा कडाइ गरिएको छ। २८ पुसमा मात्रै भारतमा दैनिक संक्रमण संख्या दुई लाख नाघेको छ। एक सातायता नेपालमा पनि कोभिड संक्रमण ह्वात्तै बढेको छ।

भारतको परिस्थितिलाई ध्यानमा राखी नेपालका सीमा–नाकाहरूमा कडाइ गर्ने निर्देशन दिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रले बतारहेकी छन्। कोभिड संक्रमण रोकथाम गर्न नाकाहरूमा कडाइसँगै खोप अभियानलाई तीव्रता दिइएको उनले बताइन्।

सरकारले दोस्रो लहरमा सीमा नाका हुँदै आउने हरेकलाई क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरेको थियो। तर यसपटक विभिन्न नाकाबाट भित्रिने व्यक्तिका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छैन।

भारतबाट नेपाल भित्रिने मुख्य नाकाहरूमा सरकारले निगरानी बढाएको छ भने एन्टिजेन परीक्षण पनि अनिवार्य गरेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

“भारतबाट आएकाहरूलाई नाकामा एन्टिजेन परीक्षण गरिन्छ, संक्रमण पुष्टि भयो भने नाकाबाटै आइसोलेट गरेर स्थानीय तहसम्म पुर्‍याउने व्यवस्था गरेको छ। हवाइमार्ग हुँदै बाह्य देशबाट आउने व्यक्तिले जसले खोप लगाएका छैनन् उनीहरूले भने अनिवार्य होटल बुक गरेर आउने र होटेल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था रहेको छ”, उनले भने।

नाकाबाट भित्रिने नेपालीहरूका लागि भनेर स्वास्थ्य मन्त्रालयले १३ वटा होल्डिङ सेन्टरहरू बनाउने कार्यविधि बनाएर काम अघि बढाए पनि त्यसको प्रगतिविवरण नआइसकेको प्रवक्ता डा.अधिकारीले बताए।

उनी भन्छन्, “अहिलेसम्म जम्मा ७० प्रतिशत काम सकिएको छ भन्ने सुनिएको छ, तर त्यतिले मात्र हुँदैन। सम्पूर्ण काम सकेर हामीलाई ह्यान्डओभर गर्नुपर्ने हो, गरेको छैन, दुई तीन वटा नाकामा जति काम सकिएको छ त्यस्तै नै सञ्चालनमा ल्याइएको छ  ।”

एउटा होल्डिङ सेन्टरमा एक हजार जना व्यक्तिलाई होल्ड गर्न सकिने उनको भनाइ छ। तर सेन्टरमा संक्रमित मात्र राख्ने कि अरूलाई पनि राख्ने भनेर निर्णय नभइसकेको उनको भनाइ छ।

नेपालका तीन नाकाहरूको यस्तो छ अवस्था

जमुनाहा नाका

नेपालका मुख्य नाकाहरू मध्ये बाँकेको जमुनाहा नाका पनि एक हो। भारतमा संक्रमण बढ्दै गएपछि अहिले जमुनाहा नाकाबाट दैनिक पाँच सयदेखि एक हजार जनासम्म आइरहेको हेल्थ डेस्ककी इन्चार्ज गीता शाहीले बताइन्।

जमुनाहा नाका भारतबाट आएका सबैको एन्टिजेन जाँच नगरी लक्षण भएका व्यक्तिहरूको मात्र जाँच गरिने उनले बताइन।

उनका अनुसार २८ पुसमा ५ सय ३० जना नेपाल भित्रिएका थिए। उनीहरू मध्ये तीन सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भयो। आज (२९ पुस) २ बजेसम्म पनि दुई सय जनामा परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताइन्।

“यसरी संक्रमण पुष्टि भएका मध्ये बाँके जिल्लाकै छन् भने उनीहरू सीधै घर जान्छन् र होम आइसोलेसनमै बस्छन्,” उनले भनिन्, “अन्य जिल्लाको हकमा भने नेपालगञ्ज महानगरपालिकाले रामलीला मैदानमा आइसोलेसन सञ्चालन गरेको छ त्यहीँ लगिन्छ। तर त्यहाँबाट पनि आफ्नै स्थानिय तहसम्म पठाउने तयारी भइरहेको छ।”

संक्रमण पुष्टि भएका धेरैले पूर्णमात्रा खोप पनि लगाएका उनले जानकारी दिइन्।

जमुनाहा नाकामा अनमी (इन्चार्ज) गीता शाहीसहित २६ जना स्वास्थ्यकर्मी परिचालित गरिएको थियो तर ८ जनामा संक्रमित बनेपछि अहिले १८ जनाले सेवा प्रदान गरिरहेका छन्।

गौरीफन्टा नाका

कैलालीको गौरिफन्टा नाकामा पनि नेपाल भित्रिने हरेकसँग खोप लगाएको विवरण माग्ने र लक्षण देखिएकाको एन्टिजेन परीक्षण गरिने गरिएको सीमा स्वास्थ्य चौकी इन्चार्ज गणेशबहादुर साउदले जानकारी दिए।

संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसनको लागि स्थानीय पालिकहरू संग समन्वय गरि पठाउने गरेको उनको भनाइ छ। उनले कोहि होम आइसोलेशनमा जान नसक्ने अवस्था भएमा धनगढी उप–महानगरपालिकाको आइसोलेशनमा राख्ने गरेको बताए।

आज (२९ पुस) भारतबाट फर्किएका सात सय २२ जनामा एन्टिजेन परीक्षण गर्दा एक सय तीन जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

त्यस्तै २७ पुसमा पाँच सय आठ जना भित्रिएकाहरूको परीक्षण गर्दा ७४ जनामा  कोरोना संक्रमण पुष्टि भयो भने हिजो बुधबार ६२ जनामा पुष्टि भएको उनले बताए।

कञ्चनपुरमा २८ पुसमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्तमा ३ जना, शुक्लाफाँटामा २ जना, पुनर्वासमा ३ जना, बेलौरीमा १ जना र गड्डाचौकीमा एक सय चार जनामा कोरोना संक्रमण देखिएको हो।

भारतबाट नेपाल फर्किएका एक सय चार जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। गड्डाचौकीमा ६ सय ४८ जनाको एन्टिजीन परीक्षण गर्दा एक सय चार जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोभिड सूचना अधिकारी शिद्धराज भट्टले बताए।

उनले संक्रमितलाई होम आइसोलेशनमा पठाउने गरेको र कोहि आफ्नै खर्चमा होम आइसोलेशनसम्म जान सक्ने अवस्था नभए नगरपालिकाको आइसोलेशनमा राख्ने गरेको  बताए।

बेलहिया नाका

रूपन्देहीको बेलहिया नाकामा दैनिक एन्टिजेन परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले नाकामा भएको परीक्षणमा शंकास्पद भेटिए स्वाब लिई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको बताए।

भारतबाट आएकाहरूमा यदि संक्रमण पुष्टि भए आईसोलेशनमा राखिन्छ यदि संक्रमितहरू घर जान चाहे भने स्वास्थ्यका मापदण्डहरू पालन गरेर   जान दिइरहेको उनले बताए।

“पछिल्लो समययता नाकामा कार्यरत पाँच जना कर्मचारी संक्रमित भइसकेका छन्,” उनले भने, “नेपाल प्रवेश गरेका मध्ये ७० प्रतिशतको रिर्पोट पोजिटिभ देखिएको छ।”

संक्रमण पुष्टि भएका सबैलाई सिद्धार्थनगर नगरपालिका भित्र बनाइएको आइसोलेसनमा राखिएको उनले बताए। नगरपालिकाकै मातहतमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा रहेको उनले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved