कोरोना कहरबीच आहा–रारा गोल्डकप तयारी अन्तिम चरणमा

कोरोना कहरबीच आहा–रारा गोल्डकप तयारी अन्तिम चरणमा

पोखरा। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई पर्यटन सहरको रूपमा विकास गरौं’ भन्ने मूल नाराका साथ हरेक वर्ष पोखरामा आहा-रारा गोल्ड हुँदै आएको छ।

कोरोनाको तेस्रो लहरको हल्ला चलिरहँदा पनि फुटबल प्रतियोगिताको तयारीमा सहारा क्लब लागिपरेको छ। कोराना महामारीबीच अघिल्लो दुई संस्करण सम्पन्न गरेको क्लबले २० औं संस्करणको अन्तिम तयारीमा पुर्‍याएको छ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेर सूचना गरे पनि स्थानीय प्रशासनको स्वीकृतिमै सामाजिक दूरी कायम गरी प्रतियोगिता सम्पन्न गर्ने क्लबले जनाएको छ। सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ ले प्रतियोगिता सकभर नरोकिने बताए। ‘प्रशासनसँग सल्लाह हुँदैछ।

“अहिलेसम्म तोकिएको मितिमै प्रतियोगिता गर्ने भनेर तयारी भइरहेको छ,” उनले भने, “राज्यले गर्नै नदिने कुरा गर्‍यो भने ज्यानभन्दा ठूलो खेल भएन क्यारे।” कोरानाविरुद्ध खोप लगाएको कार्ड देखाएर खेल सञ्चालन गर्न सकिने उनले सुनाए। पोखरा रंगशालाको फुटबल प्यारापिट १६ हजार दर्शक क्षमताको हो। त्यहाँ सोसल डिस्टेन्स कायम गरी ८ हजार सम्म दर्शक राखेर प्रतियोगिता गर्ने भनेर प्रशासनसँग स्वीकृतिमा अघि बढाउने तयारी समेत भएको उनले सुनाए।

६ माघदेखि २० औं संस्करण

२० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता ६ माघदेखि १५ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगितामा पाहुना टोली बीवाईएससी र नेपाली ‘ए’ डिभिजन क्लबहरूले प्रतिस्पर्धा गर्ने छन्।

क्लबका अध्यक्ष सुरज गुरुङअनुसार गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बीवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रीस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछ।

उनले प्रतियोगिताको विजेता टिमलाई नगद १० लाख १ हजार रूपैयाँ प्राप्त गर्ने र उपविजेता टोलीलाई ५ लाख १ हजार रूपैयाँ प्रदान गर्ने बताए। “महँगीको समयमा टीएडीए बढ्न सक्छ नत्र २० औंसम्म त्यही पुरस्कार राशि नै हुने सम्झौता छ,” उनले भने, “पुरस्कार घट्ने कुरा त हुँदैन साथीहरूले बढाउने भन्नुभो भने अन्तिम पत्रकार सम्मेलनमा जानकारी दिन्छौ। अहिलेलाई यथावत् राख्ने कुरा छ।”

यसपटकको प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ।

अध्यक्ष गुरुङका अनुसार हिमश्री फुड्स प्रालिको उत्पादन ‘आहा’ तथा ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन रहेको सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सिताजको तर्फबाट अप्रिला स्कुटर प्राप्त गर्नेछ।

एकेडेमीमा २४ जना बालक आश्रित

हरेक वर्ष क्लबले प्रतियोगिता सञ्चालनबाट बचत हुने रकम सहारा एकेडेमीमा खर्चिँदै आएको छ। २०६१ सालदेखि विपन्न तथा कठिन वर्गका बालकहरू आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षण लिँदै आएका छन्। पोखरा-१७ दोविल्लामा रहेको एकेडेमीमा हाल तेस्रो व्याचमा १४ जिल्लाका २४ जना २४ जना बालकहरू रहेका छन्।

एकेडेमी सञ्चालनको मुख्य स्रोत नै फुटबल प्रतियोगिता हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved