उठ्यो जम्बोडाँडाको फोहर, लुकिछिपी थुपार्नेलाई कारबाही गरिने

बागमती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयबासीको सहभागिता थियो।

नेपालभ्युज

उठ्यो जम्बोडाँडाको फोहर, लुकिछिपी थुपार्नेलाई कारबाही गरिने

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ।

गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानको ४१९ औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो।

बागमती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयबासीको सहभागिता थियो।

जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२ औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो। जसमा पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ।

फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ। सँगसँगै नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ।

फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहरको थुप्रो बढ्दै गएको छ।

आजको सफाइपछि जम्बोडाँडा क्षेत्रमा वडाले सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ।

सीसीटीभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि त्यहाँका वडाध्यक्ष नारायणबहादुर सुवेदीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved