काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसन निर्माण धमाधम, कुलमान आफैं अनुगमनमा

नेपालभ्युज

काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार गर्न सबस्टेसन निर्माण धमाधम, कुलमान आफैं अनुगमनमा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्न पहल लिएको छ।

काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको हो।

काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका स्वस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजनाहरू सञ्चालित छन्।

प्राधिकरणले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत् खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन शुरु गरेको छ।

सरकार, प्राधिकरण, एशियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नुपर्ने कामलगायतका विषयमा जानकारी लिएका छन्।

कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०-१३२-३३ केभी सब-स्टेशन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२-३३-११ केभी सब-स्टेशन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तीव्रता दिन आग्रह गरे।

घिसिङले अगामी वर्षको हिउँद शुरु हुनुभन्दा पहिले नै आयोजनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू र परामर्शदातालाई आग्रह गरे। “निर्माणाधीन सबस्टेशनहरू अर्को वर्षको हिउँद अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्छ, त्यसैले यस्ता संवेदनशील आयोजनाहरूको निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं”, उनले भने।

‘मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित भएको छ, समस्यालाई पार लगाउँदै जसरी पनि आयोजनाहरू सम्पन्न गर्नुपर्ने छ, सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौँ।’

मर्स्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेशन निर्माणाधीन छ। आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेशन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि ठूलो हब बन्दैछ।

सबस्टेशनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत आपूर्ति गर्न पाँच वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम शुरु गरिएको छ। फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने स्यूचाटार र टेकु सबस्टेशनको लोड काम हुने छ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको छ। सबस्टेशनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू रहने छन्।

सुख्खा बन्दरगाहनजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ। मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ।

‘थानकोट-चापागाउँ-भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो, यसबाट विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो तर लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेशन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्‍याउने योजना बनाएका छौं”, कार्यकारी निर्देशक घिसिङले भने।

“यसको डिजाइन भइसकेको छ, सञ्चालनमा रहेको लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाउँदैछौँ, त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने छौं।” अहिले ललितपुर क्षेत्रमा स्यूचाटार-पाटन-बानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ। यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ।

प्राधिकरणले काठमाडौंको टेकुस्थिति ६६-११ केभी सबस्टेशनको सुदृढीकरण गरी १३२-११ केभी र फुटुङमा १३२-११ केभीको नयाँ सबस्टेशन बनाउँदैछ। दुवै सब-स्टेशनमा ४५-४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू राखिने छ। बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ।

फुटुङ सबस्टेशनको मुख्य सिभिल संरचनाहरूको निर्माण भइरहेको छ भने उपकरणहरू आइसकेका छन्। सबस्टेशन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने छ भने बालाजु सबस्टेशनको लोड कम हुनेछ।

यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२-११ केभी सबस्टेशन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०-१३२-११ केभी सबस्टेशन निर्माण शुरु हुन सकेको छैन। तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेशन निर्माण गर्न लागिएको हो।

सबस्टेशनमा १६० र २२.५ एमपीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन्। रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेशनबाट बाह्रबिसे हुँदै लप्सीफेदीसम्म ४०० केभीको डबल सर्किट तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ।

लप्सीफेदीबाट चाँगुनारयण सबस्टेशनसम्मको करिब १० किलोमिटर प्रशारण लाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताए। चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सब-स्टेशनमा लगिने छ। सबस्टेशनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved