क्रिकेट विवाद अन्त्य, ज्ञानेन्द्रलगायत सबै खेलाडी बन्द प्रशिक्षणमा

नेपालभ्युज

क्रिकेट विवाद अन्त्य, ज्ञानेन्द्रलगायत सबै खेलाडी बन्द प्रशिक्षणमा
फाइल तस्वीर

काठमाडौं। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सहभागी हुन टिमका खेलाडीहरूलाई राखिएको होटेल पुगेका छन्। उनीसँगै असन्तुष्ट समूहमा रहेका र आज बिहानसँग बन्द प्रशिक्षणका लागि रिपोर्टिङ गर्न बाँकी सबै ९ खेलाडीले अन्तत साँझसम्ममा टिममा रिपोर्टिङ गरेका छन्।

यससँगै क्यान खेलाडी विवादले नेपाली क्रिकेट नै ठूलो दुर्घटनामा पर्ने संकेत देखिएकोमा हालको लागि दुर्घटना टरेको छ। यदि यो विवाद समाधान नभएर बढ्दै गएको भए असन्तुष्ट समूहले राष्ट्रिय क्रिकेट टिमबाट नै नखेल्ने सम्भावना देखाएका थिए।

यदि त्यसो भएको भए अनुभवी र प्रतिभावान् खेलाडीहरू विनाको नेपाली क्रिकेटको भविष्य अन्धकारतर्फ जानसक्थ्यो। साथै यसै विवादका कारण क्रिकेटमा अनावश्यक राजनीतिक हस्तक्षेप बढिरहेको थियो।

सन् २०१६ मा अनावश्यक राजनितिक हस्तक्षेपकै कारण अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले क्यानलाई प्रतिबन्ध लगाएको थियो। त्यसैले यो पटक पनि फेरि सोही नियति दोहोरिएला कि भन्ने शंका पनि थियो।

तर नेपाली क्रिकेटका संकट मोचक बन्न आइपुगेका प्रशिक्षक पुबुदु दासनायकेले हालको संकट मोचन गरेरै छाडे। नेपाली क्रिकेटको भविष्यमाथि मडारिरहेको बादल तत्कालको लागि फटाएरै छाडे।

उनले नेपाल आउनेबित्तिकै ‍भनेअनुसार नै कोठामा नै बसेर संवादमार्फत नै यसको हल निकालेर नै छाडे। योसँगै टी-ट्वान्टी विश्व कप छनाटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि छनोट भएका सबै ३० खेलाडीको पूर्ण टिमसहित मंगलबारबाट प्रशिक्षण सुचारु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र केही असन्तुष्ट खेलाडीबीच चलिरहेको सबै विवाद आपसी छलफलको माध्यमबाट समाधान भएपछि आजदेखि नै बन्द प्रशिक्षण शुरु भइसकेको छ।

तर बन्द प्रशिक्षणमा सोमबार टीयू खेल मैदान कीर्तिपुरमा १४ खेलाडी मात्र उपस्थित थिए। क्यानलको कारबाहीमा परेका चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसँगै असन्तुष्ट समूहमा रहेका खेलाडीमध्ये ९ खेलाडीले क्लोज क्याम्पमा रिपोर्टिङ गरेका थिएनन्।

तर सोमबार साँझ यी चारसँगै करण केसी, कुशल भुर्तेल, अभिनास बोहोरा, रोहित कुमार पौडेल र सन्दीप जोरा पनि होटेल रमादा पुगर टिममा रिपोर्टिङ गरेको क्यानले जनाएको छ।

पहिलो दिनको प्रशिक्षणमा शरद भेषवाकर, प्रदीप ऐरी, कुशल मल्ल, आशिफ शेख, आरिफ शेख, पवन सरार्फ, भीम सार्की, साहब आलम, जितेन्द्र मुखिया, विवेक कुमार यादव, राजेश पुलामी मगर, सौरभ खनाल र किशोर महतो सहभागी रहेका थिए।

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, हरिशंकर शाह र नन्दन यादवले भने यसअघि नै टिममा रिपोर्टिङ गरे पनि पीसीआर रिपोर्ट नआइसकेकाले सोमबार क्याम्पमा सहभागी हुन पाएनन्। त्यस्तै शुरुआती टिममा परेका सागर ढकाल अस्वस्थ छन् भने नयाँ कप्तान सन्दीप लामिछाने बिग व्यास लिग खेलिहरेका कारण अष्ट्रेलियामा छन्।

वार्षिक सम्झौताका लागि गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझाउँदै मिडियामा बोलेको र क्यानसमक्ष ११ बुँदे मागसहित अल्टिमेटम दिइकोले अनुशान उल्लंघनको कारण देखाउँदै गत २९ मंसीरमा क्यानले राष्ट्रिय टिमका चार खेलाडीलाई कारबाही गरेको थियो।

यसपछि खेलाडीहरू कारबाही फिर्ता नलिए राष्ट्रिय टिममा सामेल नहुने सम्मको निर्णयमा पुगेका थिए। आइतबार क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके लगाएतसँग भएको छलफलपछि विवाद समाप्त भएको क्यानले जनाएको छ।

जसअनरूप पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महीनाका लागि वार्षिक सम्झौतामा नराख्ने गरी कारबाही क्यानले फिर्ता लिने भएको छ। त्यस्तै खेलाडीका अन्य मागहरू पनि पूरा गर्न क्यान सकारात्मक भएको छ।

तर ज्ञानेन्द्र मल्ललाई हालको लागि पुनः कप्तानको जिम्मेवारीमा फिर्ता बोलाउनुपर्ने खेलाडीको माग भने पूरा नहुने भएको छ। अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपको लागि नेपालले डेढ महिनापछि छनोट प्रतियोगिता खेल्दैछ। नयाँ प्रशिक्षकको नियुक्ति समयमा नहुनु र क्यान खेलाडी विवादका कारण नेपालको तयारी समयमा हुन सकेको थिएन।

नेपाल आउँदो फेब्रुअरी १५ देखि ओमानमा हुने विश्व कप छनोट समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै बलिया राष्ट्र आयरल्याण्ड, ओमान र यूएईसँगै फिलिपिन्स्, जर्मनी, क्यानडा र बहराइन गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोबिन लिगका आधारमा हुने छनोट खेलमा शीर्ष दुईभित्र पर्न सके नेपालले दोस्रो पटक विश्वकप खेल्न पाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved