सकियो क्यान–खेलाडी विवाद, विश्वकप छनोटका लागि बन्द प्रशिक्षण शुरु

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके लगायतसँग ज्ञानेन्द्र मल्लले गरेको छलफल सकारात्मक भएको थियो।

नेपालभ्युज

सकियो क्यान–खेलाडी विवाद, विश्वकप छनोटका लागि बन्द प्रशिक्षण शुरु

काठमाडौं। टी-ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र केही असन्तुष्ट खेलाडीबीच चलिरहेको सबै विवाद समाधान भएको तर सहमतिको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको क्यानका एक पदाधिकारीले बताएका छन्।

विवाद अन्त्यसँगै सोमबारदेखि आधिकारिक रुपमा प्रशिक्षण शुरु भएको हो। तर बन्द प्रशिक्षणमा सोमबार त्रिवि खेल मैदान कीर्तिपुरमा १४ खेलाडी मात्र उपस्थित छन्।

क्यानको कारबाहीमा परेका चार खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसँगै असन्तुष्ट समूहमा रहेका खेलाडी मध्ये ९ खेलाडीले भने हालसम्म क्लोज क्याम्पमा रिपोर्टिङ गरेका छैनन्।

यी चारबाहेक रिपोर्टिङ नगर्ने अन्य खेलाडीहरुमा करण केसी, कुशल भुर्तेल, अभिनास बोहोरा, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन्। यी खेलाडीहरुले सोमबार बेलुकासम्म होटलमा आएर टिममा रिपोर्टिङ गर्ने क्यानले जनाएको छ।

पहिलो दिनको प्रशिक्षणमा शरद भेषवाकर, प्रदीप ऐरी, कुशल मल्ल, आशिफ शेख, आरिफ शेख, पवन सरार्फ, भीम सार्की, साहब आलम, जितेन्द्र मुखिया, विवेक कुमार यादव, राजेश पुलामी मगर, सौरभ खनाल र किशोर महतो सहभागी रहेका छन्।

आइतबार क्यानसँग गरेको छलफलपछि अघिल्लो दिन क्याम्प बहिष्कार गर्ने केही खेलाडीहरुले पनि सोमबार रिपोर्टिङ गरेका छन्।

जसमा विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, हरिशंकर शाह र नन्दन यादवले पनि रिपोर्टिङ गरे पनि पीसीआर रिपोर्ट नआइसकेकाले क्याम्पमा सहभागी हुन पाएका छैनन्।

त्यस्तै, सागर ढकाल अस्वस्थ छन् भने नयाँ कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग खेलिहरेका कारण अष्ट्रेलियामा छन्।

वार्षिक सम्झौताका लागि गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझाउदै मिडियामा बोलेको र क्यानसमक्ष ११ बुँदे मागसहित अल्टिमेटम दिइएकोले अनुशासन उल्लंघनको कारण देखाउदै गत २९ मंसीरमा क्यानले राष्ट्रिय टिमका चार खेलाडीलाई कारबाही गरेको थियो।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके लगायतसँग ज्ञानेन्द्र मल्लले गरेको छलफल सकारात्मक भएको थियो।

त्यसपछि सोमबार बिहान भएको क्यान र खेलाडीबीचको छलफल पनि सफल भएकोले अब विवाद समाप्त भएको क्यानले जनाएको छ।

जसअनरूप पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महीनाका लागि वार्षिक सम्झौतामा नराख्ने गरी क्यानले गरेका कारबाही फिर्ता लिन क्यान तयार रहेको छ।

त्यस्तै, खेलाडीका अन्य मागहरु पनि पूरा गर्न क्यान समारात्मक भएको छ। तर ज्ञानेन्द्र मल्ललाई हालको लागि पुनः कप्तानको जिम्मेवारीमा फिर्ता बोलाउन पर्ने खेलाडीको माग भने पूरा नहुने भएको छ।

अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपको लागि नेपालले डेढ महिनापछि छनोट प्रतियोगिता खेल्दैछ। नयाँ प्रशिक्षकको नियुक्ति समयमा नहुनु र क्यान खेलाडी विवादका कारण नेपालको तयारी समयमा हुन सकेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved